ललितपुर। अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला पाटन संग्राहलय, ललितपुरमा गरिने आयोजकले जानकारी दिएको छ । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराईएको हो । नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकत्ता महशुस गरि अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएका छन् । मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् ।

आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हरेक प्राणी एवं मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो शर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैन् । घरको एक सदस्य अवस्थ हुँदा पुरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ ।

जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैवीक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढि स्टलहरु रहने जानकारी दिईन् । उनकाअनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसँग समन्वय गरिएको छ । उनले भनिन्,‘मेलाको गतिविधि आमसञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गराउन सजिलो होस भन्ने उद्देश्यले मेला अवधिभर मिडिया कर्नरको समेत व्यवस्थापन गरिएको छ ।’

उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु, फलफूल, विउ विजन, मह, तेल, राडी, पाखीलगायत रहने जानकारी दिईन् । त्यस्तै, मेलामा अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा पनि जानकारी तथा सूचना समेत प्रवाह गरिने उनको भनाई छ । आयोजक संस्थाकाअनुसार उक्त मेलामा ३० लाख खर्च हुने अनुमान गरिएको छ । र, मेलामा एक करोडको कारोबार हुने पनि आयोजकले अपेक्षा लिएको छ ।