
सर्लाही। सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमबाट चिनी निकासी गर्न किसानले अवरोध गरेका छन् । उद्योगीले सरकारलाई गत वर्षको चिनी बिक्री गरेपछिमात्र भुक्तानी दिने भनेपछि किसानहरुले भने अवरोध गरेका हुन् ।
शनिबार बिहान स्थानीय प्रशासनसँग समन्वय गरी उद्योगको चिनी बिक्रीका लागि अन्यत्र सार्ने तयारी गरिएको थियो । तर, किसानले गत वर्ष पनि उद्योगीको तर्फबाट यस्तै प्रतिबद्धता जनाइएको तर पछि भुक्तानी नदिएको भन्दै चिनी निकासी गर्न नदिएका हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गृह र उद्योग मन्त्रालयले चिनी निकासीको व्यवस्था मिलाइदिन पत्राचार गरेकाले सुरक्षाकर्मी परिचालन गरी उद्योगबाट चिनी निकासी गर्ने प्रयास गरिरहेको जानकारी दिए ।
किसानलाई सम्झाइ–बुझाइ गरेरमात्रै चिनी निकासी गरिने जिसीले बताए ।
सरकारसँग गत पुसमा भएको सहमतिपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ ।