ललितपुर। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहीबार काठमाडौं क्षेत्र नं. १ बाट कौशी खेतीको सुभारम्भ गरेका छन्। नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच कौशी खेती शुभारम्भ गरिएको हो। सोही अवसरमा हाइड्रोपोनिक, एरो पोनिक्स र माटो विनाको कौशी खेतीको डेमोस्ट्रेशन गरिएको थियो।
कृषि मन्त्री लामाले उपत्यकास्थित प्रधानमन्त्री निवास तथा सांसदका क्वाटरमा मात्रै नभएर कृषि मन्त्रालयअन्तर्गत काम गर्ने सम्पूर्ण कर्मचारीको घरमा कौशी खेती लगाउनु पर्ने बताए। उनले भने, ‘उपत्यकाबासीले कम्तीमा ५० प्रतिशतमात्रै आयात प्रतिस्थापन गर्न सकेमा नेपालको तरकारी तेश्रो मुलुकमा निर्यात गर्न सकिनेछ।
‘बढ्दो प्रदूषण निवारणको एउटा विकल्प कौशी खेती हुन सक्छ’, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीले भने, ‘कौशी खेती गर्नेले हरियो सागसब्जी चाही किन्न पर्दैन। उपत्यकाबासीलाई यो सुनौलो अवसर छ। यसको सदुपयोग गर्नुहोला।’
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र ललितपुरले उपत्यकाका तीन जिल्लाका झण्डै दुई हजार घरलाई यो वर्ष कौशी खेतीका लागि ५० प्रतिशत अनुदान दिने भएको छ। ज्ञान केन्द्रका प्रमुख निर्मल गदालका अनुसार राम्रोसँग कौशी खेती गर्ने हो भने हरेक घरले तरकारी नै किन्न पर्दैन तर थोरैथोरै गर्दा पनि धेरै तरिकाबाट फाइदा पुग्नेछ।
कौशी खेतीका प्रवर्द्धक खोजराज कटवालले कौशी खेती प्रविधिको प्रयोगात्मक प्रदर्शनी गरेर उपस्थित सहभागी महिलाको जिज्ञासा मेटाएका थिए।









