वीरगन्ज । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएको छ । पोटास अभावकै कारण किसानले लगाएको गहुँखेती प्रभावित देखिएको हो ।

कृषि सामग्रीले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव नौ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो ।
कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगन्ज महानगरपालिका २४, रामगढवाका किसान विजय पण्डितले भने, “भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचेजस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।”

कोलकता बन्दरगाहमा अड्किएको रासायनिक मल पोटास आपूर्तिकर्ताले र्‍याक नपाउँदा ढुवानी हुन नसकेको भन्दै प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले बताए । यद्यपि पोटास माघभित्र आइसक्ने बताए । हाल कार्यालयमा युरिया पाँच हजार ६३ टन तथा डीएपी चार हजार ७९४ दशमलव नौ टन मौज्दात छ । सो कार्यालयले चालु आवमा दुई लाख ३० हजार टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले बताए ।