दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर योजना कार्यान्वयन शुरु गरेको छ । तरकारीका लागि उत्तम क्षेत्र मानिएको यो ठाउँमा कृषकहरुलाई तरकारीबाटै आत्मनिर्भर बनाउने गरी योजना अघि सारिएको छ ।

यहाँका किसानहका लागि गाउँपालिकाले उन्नत जातको तरकारीको बीउ, पोलिहाउस र विभिन्न तालीमहरुको आयोजना गरिएको छ । उपयुक्त माटो र हावापानी तथा सडक सञ्जालले जोडिएकाले यो क्षेत्र तरकारी करिडोरकै रुपमा जोडिन लागेको हो ।

किसानहरुको आर्थिक अवस्थामा सुधार गरी व्यावसायिक बनाउने अभियानको थालिनी भएको वडा नम्बर २ का स्थानीयवासी वीरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बेमौसमी उन्नत बीउविजन तथा तालीम प्राप्त भएपछि किसान खुशी भएका छन् । उनीहरु अब तरकारी खेती गर्न सक्ने भएका छन् भने सीप हासिल गरेका छन् ।

गाँउपालिका र वडा कार्यालयको पहलमा किसानको आयआजर्नमा वृद्धि होस् र स्वास्थ्यमा पनि सुधार होस् भन्ने उद्देश्यका साथ बेमौसमी तरकारीका बीउहरु, विभिन्न साना सिँचाइका योजनाहरुको काम चलिरहेको वडा नं ३ का अध्यक्ष बहादुरसिंह बोहराले बताउनुभयो ।

नौगाड २ दल्लेखका झण्डै ७० परिवारले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरिसकेका छन् । एक सय पोली हाउसमा तरकारी खेती भइरहेको वडा नम्बर २ का वडाअध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।

तरकारी खेतीका लागि दुई सय पोली हाउस आउँदैछ । सुण्डमुण्डुमा झण्डै ४०० बढी घरधुरीले नै तरकारी खेती गर्ने गरी तयारी थालिएको छ । यो चिसो हावापानी भएको क्षेत्र हो, ठगुन्नाले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी खलङ्गा बजारमा ढुवानी गर्न सकिन्छ ।”

सदरमुकाम खलङ्गा नजिकै रहेका कारण दल्लेखबाट तरकारी ढुवानी गर्न समस्या छैन्, उहाँले भन्नुभयो, “पारी भारतको तरकारी खानुभन्दा दल्लेख सुण्डमुण्डको तरकारी पु¥याउने योजना बनाएका छौँ ।”

“तरकारी उत्पादन र बजार दुवैको अत्यधिक सम्भावना भएकाले यहाँ व्यावसायिक उत्पादनलाई प्रोेत्साहन गर्दैछौँ”, गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भन्नुभयो, “व्यवसायिक तरकारी खेती र पशुपालनका लागि गाउँँपालिकाले उन्नत जातका बीउविजन, मलखाद्य, भण्डारण र बजारीकरणमा जोड दिएको छ ।”

दल्लेखमा विगतदेखि नै कृषकहरुले आलु उत्पादन गर्दै आएका छन् । नेपाल सरकारबाट चालू आर्थिक वर्षमा प्राप्त विशेष अनुदानको रु ६६ लाख ५० हजारले आलुको चिस्यान भण्डार गृह निर्माणको गृहकार्य भइरहेको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।

आलु पकेट क्षेत्र हो । विस्तारै अन्य तरकारीसमेत लगाएर तरकारीको करिडोर निर्माण गर्छौँ, उहाँले भन्नुभयो ।