ललितपुर। पछिल्लो समय मुलुकभर खासगरी वनजङ्गल क्षेत्र आसपास गरिने कृषिका लागि बाँदरले बालीनाली नाश गर्ने समस्या बढ्दो छ । बढ्दो रुपमा रहेको मानव बाँदरबीचको द्वन्द्व न्यूनीकरणका लागि अनुसन्धान गरी अल्पकालीन र दीर्घकालीन उपाय सुझाइएको छ ।साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनले एक वर्ष लगाएर गरेको अनुसन्धानबाट बाँदर हिँड्ने बाटोमा ऐना राख्दा ऐनामा आफूजस्तै तस्बिर देखेर बाँदर डराएर पछाडि फर्केको देखिएको हो । यसैगरी बाँदरको बाटोमा बाघ तथा चितुवासहितको ‘ब्यानर’ तथा ‘डमी’ राख्दा पनि बालीनालीमा बाँदरको प्रवेश रोक्न प्रभावकारी देखिएको छ ।

यी अल्पकालीन उपायसँगै बाँदर हिँड्ने मार्गमा अम्रिसो, सिस्नुजस्ता बिरुवा लगाउने, बाँदरले नखाने वैकल्पिकखेती जस्तै कागती, तेजपात, खेती गर्ने र बाँदरको आहारका लागि वनजङ्जलमा अम्बा, अमला, सिप्लीगाना, रुखकटहर जामुनलगायतका बिरुवा रोप्ने दीर्घकालीन उपाय पनि सुझाइएको फाउण्डेसनका अनुसन्धानकर्ता सञ्जन थापाले बताउनुभयो । फाउण्डेसनले सन् २०१९ को अवधिभर विश्व वन्यजन्तु कोषको सहयोग तथा स्थानीय तह र जिल्ला डिभिजन वन कार्यालयको समन्वयमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित जसपुर र प्यूरी दोभान स्थानमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा बालीनाली काट्ने समयमा जङ्गलमा बाँदरका लागि आहारका रुपमा फलफूल राख्दा, बाँदर हिँड्ने बाटोमा साउण्ड बक्समार्फत बाघ, चितुवा र कुुकुरको आवाज बजाउँदा तथा पानीको फोहोरा राखेको र ती उपाय भने प्रभावकारी नदेखिएको फाउण्डेसनेले जनाएको छ । फाउण्डेसनेले अनुसन्धानमा देखिएका तथ्यका बारेमा आज यस क्षेत्रका विज्ञ र सम्बन्धित सरकारी अधिकारीसँग छलफल गरेको हो ।

फाउण्डेसनले सो क्षेत्रमा सिसिटिभी क्यामेराबाट बाँदरको आवातजावत र क्रियाकलाप अनुगमन गरेको थियो । बाँदरको बासस्थान अतिक्रमण भएको, बाँदरका लागि खाने आहारा फलफूलको कमी भएपछि सहजरूपमा आहारको खोजीमा कृषि तथा बालीनालीमा पस्न लागेको अनुसन्धानबाट देखिएको हो । अनुसन्धानपछि सरकारी तहमा यो विषयले बहस तथा प्राथमिकता पाउने अनुसन्धानकर्ता थापाले बताउनुभयो ।

बाँदरको सङ्ख्या धेरै भएकाले मार्नुपर्छ भन्ने आवाज पनि आएको सम्बन्धमा उहाँ भन्नुहुन्छ, “बाँदर मार्नका लागि कानून पनि चाहियो र सङ्ख्याका बारेमा आधिकारिक यथार्थ तथ्याङ्क पनि हुनुपर्छ ।” यद्यपि मुलुकभर मानव–बाँदरबीच द्वन्द्व बढेकाले बाँदरको सङ्ख्या पनि बढेको हुनसक्ने अनुमान छ । मानवस्तीमा प्रवेश गर्ने बाँदरको समस्या समाधानका लागि वन्युजन्तु पार्कमा चितुवालगायत वन्यजन्तुको आहारको रुपमा बाँदरलाई राख्न सकिने बारेमा पनि बहस नभएको होइन ।

कुनै पनि वन्यजन्तुको सङ्ख्या आवश्यक भन्दा बढ्यो र मानवलाई हानी पु¥यायो भने अनुसन्धान गरेर निश्चित सङ्ख्यालाई मार्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ । तर व्यवस्थापन गर्न सकिने सङ्ख्यालाई भने विभिन्न अल्पकालीन र दीर्घकालीन उपाय अवलम्बन गरी समाधान गर्नुपर्ने अनुसन्धानकर्ता थापाको तर्क छ ।

बाँदरको समस्या समाधानका लागि कृषकले परम्परागत रुपमा ढुङ्गा हानेर बाँदरलाई लख्टने, गुलेली हानेर भगाउने, कुरुवा बसेर धपाउने, कुकुरबाट धपाउनेलगायत उपाय गर्दै आएका छन् । यसले एकातिर समय र श्रम धेरै खर्च हुँदैआएको तथा अर्कोतिर मानिसलाई पनि बाँदरको आक्रमणको पनि सम्भावना रहेको अनुसन्धानमा खटिनुभएका फाउण्डेसनकी योजना अधिकृत सविता गुरुङले बताउनुभयो ।

फाउण्डेसनले अनुसन्धानका क्रममा विभिन्न प्रजातिका पाँच हजार भन्दा बढी बिरुवा वितरण तथा रोपण गरेको थियो । “त्यसमध्ये बाँदरका लागि आहारका रुपमा सो क्षेत्रको जङ्गलमा अम्बा, अमला, सिप्लीगाना, रुखकटहर, जामुनलगायत बिरुवा स्थानीयवासीको सहयोगमा रोपण ग¥यौ, त्यस्तै कृषकका लागि तेजपात, कागती, अम्रिसोलगायत वैकल्पिक खेती गर्न सुझायौं” योजना अधिकृत गुरुङले भन्नुभयो । बाँदरले मुलुकभर मकैलाई सबैभन्दा बढी नाश गर्ने गरेको छ ।

बाँदरले बालीनाली नाश गर्ने क्रममा धपाउँदा महिलालाई आक्रमण गर्ने गरेको पनि भेटिएको छ । फाउण्डेसनले अनुसन्धानका क्रममा बाँदरले आक्रमण गर्दा रेविज सुई लगाउनुपर्ने स्थानीयबवासीमा सचेतना पनि जगाएको योजना अधिकृत गुरुङले जानकारी दिनुभयो । पारिस्थितिकीय प्रणालीमा बाँदरका क्रियाकलापले रुख तथा बिरुवा हल्लाएर फलफलमा परागसेचन हुने, बिरुवाको बियाँ एक ठाउँबाट अर्को स्थानमा पु्ग्ने, जमीनमा हिँड्ने वन्यजन्तुका लागि रुखमाथिका पात र फलफूल झारेर उपलब्ध गराउनेलगायत बहुआयामिक महत्व छन् ।