
बाँके। रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रू. ३५ हजारसम्म कमाउने गरेका छन् ।
उनीहरू नेपालगञ्जको धम्बोझीमा ल्याएर आफूले उत्पादन गरेको तरकारी बेच्ने गर्छन् । एकदिनको अन्तरमा उनीहरु बर्दियाबाट नेपालगञ्ज तरकारी बेच्न आउँछन् । धम्बोझी चोकमा विक्री नभएको तरकारी नेपालगञ्जका घरघरमा पुर्याएर बेच्छन् । चाररपाँच वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्न थालेका थारु महिला मौसमअनुसारको तरकारी नेपालगञ्ज, खजुरा, कोहलपुरलगायतका बजारमा पुगेर बेच्ने गर्छन् ।
एक दशकसम्म कमैया बसेकी भदैयाकी मनरानी थारु कमैया मुक्त घोषित भएपछि सरकार दिएको जग्गामा व्यावसायिकरूपले विगत पाँच वर्षदेखि तरकारी खेती गरिहेकी छन् । आठ कठ्ठा जग्गामा तरकारी खेती गरेर नै उनले पाँच जनाको परिवार पालिरहेकी छन् । मासिक रू. ३५ हजारसम्म कमाउने गरेको बताउँदै उनले भनिन्, ‘पहिले सामान्य खर्च टार्न पनि ऋण लिनुपर्थ्यो । अहिले परिस्थिति फेरिएको छ । छोराछोरीलाई पढाउने, घरखर्च चलाउने काम आफ्नै परिश्रमबाट पूरा भएको छ ।’ उनले तरकारी बेचेरै गाउँमै चार कठ्ठा जग्गा पनि किनिसकेको बताए । आजभोलि उनको बारीमा धनियाँ, काउली, बन्दा, आलुलगायतका सागपात फलेका छन् ।
उनी आफ्नो बारीमा फलेका तरकारी र भएको कमाइबाट पूरा सन्तुष्ट रहेको बताउछिन् । गत वर्ष फागुनमा मात्र ६० क्विन्टल आलु उत्पादन गरेकी उनले जानकारी दिइन् । ठूलो आलु विक्रीका लागि नेपालगञ्ज, खजुरा र कोहलपुर पठाउने गरेको र सानो आलु घरघरमा पुगेर विक्री गर्ने गरेको उनको भनाइ छ । आफ्ना उत्पादन विक्री गर्न गाउँबाट समूह बनाएर निस्किने गरेको उनले बताइन् ।
थारु समुदायको लोकप्रिय ‘थारु आलु’ अहिले पछिल्लो समय कम पाइन थालेको छ । थारु आलु कम र सानो फल्ने भएकाले लोप हुँदै गएको उनको भनाइ छ । ‘कमैया बस्दा धेरै दुःख भोग्नुपर्यो, आजभोलि आफ्नै बारीमा काम गर्न थालेपछि धेरै खुशी छु’, उनले भनिन् । तरकारी बेचेर एक जनाले दैनिक रू। एक हजार ५०० सम्म कमाउने गरेका छन् ।
स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेको थारु महिला बताउँछन् । विषादीरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै विक्री हुने गरेको उनीहरुको भनाइ छ । भदैयाकै रामपति थारुले पाँच कठ्ठामा तरकारी खेती गरेकी छन् । गत वर्ष मात्रै उनले ३० क्विन्टल आलु उत्पादन गरेको बताइन् । गाउँमा भन्दा घरघरमा पुगेर तरकारी विक्री गर्दा दोब्बर नाफा हुने गरेको रामपतिले बताइन् ।
उनले पनि तरकारी खेती गरेरै चार जनाको परिवार पालेकी छ । काम गर्न थालेपछि आर्थिक संकट टर्दै गएको र जीवन चलाउन सहज भएको उनले बताइन् । तरकारी खेती गर्न थालेपछि घरखर्च सहजरूपमा चल्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको उनको भनाइ छ । बढैयाताल गाउँपालिका–६ का करीब ३० जना महिला समूहमा आबद्ध भएर तरकारी खेती गरिरहेका छन् ।