सोलुखुम्बु। मङ्सिरमा परेको हिउँले किसान उत्साहित भएका छन् । समयमै परेको हिउँले खेतबारीमा लगाइएको गहुँसहितका अन्नबाली र तरकारी खेतीका लागि चिस्यान पुग्ने भएपछि किसान खुशी भएका हुन् ।
सुख्खाग्रस्त क्षेत्रमा बाली फष्टाउने र उत्पादन बढ्ने सम्भावना देखिएको पात्लेका किसान डेण्डी शेर्पाले बताउनुभयो । विगतका वर्षमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रमा पनि यस वर्ष मङ्सिरमै हिउँ परेको उहाँको भनाइ छ । “पोहोरतिर पुस माघमा मात्रै हिउँ पथ्र्यो, यस वर्ष बेलैमा हिउँ परेको छ, हामी किसानका लागि यो राम्रो हो”, शेर्पाले भन्नुभयो, “एक्कासि चिसो बढ्दा जनजीवनचाँही अलिक कष्टकर नै छ, कतिपयले न्यानोको जोहो गर्न भ्याएका थिएनन् तर जाडो भए पनि गहुँ सप्रिन्छ, तरकारी राम्रो फल्छ ।”
सोलुखुम्बुका सबैजसो उच्च भूभागसहित जिल्लाका खिजीदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ । त्यस क्षेत्रमा हिउँसँगैको आकाशे पानीका कारण मानिस र पशुचौपाया चिसोको मारमा छन् । माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ ।
ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ । जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ ।









