दाङ। घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरू गरेको छ । कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरू गरिएको हो ।

चालू आर्थिक वर्षदेखि शुरू गरिएको कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा ९ वडा मात्रै सहभागी भएका छन् । कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिएपनि वडा नम्बर ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरू गरिने उनले बताए ।

प्रमुख खनालका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर १ मा पिँडालु खेती, वडा नम्बर ३ मा आलु, वडा नम्बर ४ मा प्याज, वडा नम्बर ५ मा टमाटर, वडा नम्बर ६ मा आलु, वडा नम्बर १० मा आलु, वडा नम्बर १३ मा पनि आलु, वडा नम्बर १७ मा सिमी र वडा नम्बर १९ मा कागती खेतीका लागि छनोट गरिएको छ । त्यसका लागि शाखाले प्रतिवडा ९५ हजारदेखि २ लाख रुपैयाँसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालू आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ ।

उपमहानगरका अनुसार चालू आवमा १८ पावर ट्रयाक्टर वितरण गरेको छ । गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताए ।

उनका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताए ।