पाल्पा। रामपुर नगरपालिकामा बुटवल, भैरहवालगायतका विभिन्न बजारबाट ठूलो परिमाणमा तरकारी भित्रने गर्छ । बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन थालेपछि स्थानीय उत्पादनले बजार पाउन सकस परेको छ ।

यसलाई मध्यनजगर गर्दै नगरपालिकाले बाहिरी बजारबाट भित्रने तरकारीमा निरुत्साहित गर्ने भएको छ । आउँदो पुस १ गतेदेखि अभियान नै शुरु गरी बाहिरी उत्पादनलाई निरुत्साहित गर्ने नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई जोड दिँदै कृषकलाई व्यवसायमा हौसला बढाउँदै जाने कार्यक्रम रहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।

“बाहिरबाट भित्रने विषादीयुक्त तरकारी सेवनले मानव स्वास्थ्यलाई असर पारिरहेको छ, अर्कोतर्फ स्थानीय उत्पादनले बजार नपाउने समस्या, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न बुटवललगायत विभिन्न बजारबाट आउने तरकारी रोक्ने अभियानमा छौँ”, नगर प्रमुख थापाले भने। रामपुरमा ६० प्रतिशत बाहिरी बजारबाट, २० प्रतिशत छिमेकी निस्दी गाउँपालिका र २० प्रतिशत रामपुरमा उत्पादित तरकारी बजारमा खपत हुने गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

हप्तामा बुटवललगायतका बाहिरी बजारबाट २० देखि ४० टनसम्म तरकारी रामपुर बजारमा भित्रने गरेको उनी बताउँछन्। ‘सस्तो मूल्यमा आएका बाहिरी उत्पादनले रामपुर बजार ढाकेपछि स्थानीय उत्पादनले बजार पाएनन्, बाहिरी उत्पादनमा रोक लगाउन सके व्यावसायिक कृषिमा कृषकको आकर्षण बढ्नेछ’, शाखा प्रमख पाण्डेयले भने।

पछिल्लो समय नगरपालिकाभित्र तरकारी उत्पादन तथा केरा, च्याउखेतीतर्फ कृषकको आकर्षण बढेको छ । लागत र परिश्रमअनुसार मौसमी तरकारीले मूल्य नपाउँदा कृषकले खेतबारीमै कुहाएर फाल्ने गरेको पाइएको छ । कच्चा सामग्री भएकाले लामो समयसम्म टिकाउन नसक्दा कृषकले नोक्सान बेहोर्नुपरेको छ ।

नगरपालिकाले यहाँ उत्पादन नहुने कृषिउपजबाहेक अरु उत्पादनलाई निरुत्साहित गर्ने भएको हो । नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादनमा जोड दिइएको छ । कृषि उत्पादनका हिसाबले पाल्पा जिल्लाकै उपयुक्त भूभाग रहेको रामपुरलाई नमूना कृषिका रुपमा चिनाउन र यसैबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन अभियान कार्यक्रम अगाडि बढाइएको छ ।

नगर कार्यपालिकाको बैठकले दशवटै वडामा उत्पादनशील कृषिउपज तथा पशुपालनको क्षेत्र निर्धारण गरेको वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए । ‘नगरको विकास भनेको नै कृषि हो, जबसम्म कृषिमा विकास हुँदैन, तबसम्म रामपुरको विकास गर्न सकिँदैन’, उनले थपे, ‘कृषि उत्पादन बढाउन सकिएन भने हामी आर्थिक क्षेत्रमा बलियो बन्न सक्दैनौँ, एक वडा एक उत्पादन गरेर आर्थिक समृद्धि बढाउने कार्यमा नगरपालिकाले प्राथमिकता दिएको छ’, उनले भने ।

एक वडा एक उत्पादनलाई जोड दिएर नगरको भौगोलिक अवस्था अध्ययन गरेर पकेट क्षेत्र निर्धारण गरिएको छ । वडा नं १ मा पहिलो प्राथमिकता कागती, दोस्रोमा मौरी, तेस्रोमा अदुवा, वडा नं २ को कार्यालयले बाख्रा, खुर्सानी, गोलभेँडा, ३ मा एभोकाडो, बाख्रा र आलु, वडा नं ४ मा काक्रा, बाख्रा, बन्दा, बङ्गुर, वडा नं ५ मा गोलभेँडा, केरा र दूध निर्धारण गरिएको छ ।

त्यस्तै वडा नं ६ मा आलु, मौरी, बाख्रा र केरा, ७ मा घिरम्ला, करेला, कागती, कुखुरा, वडा नं ८ मा कुखुरा, सिमी, दूध र सुन्तला, वडा नं ९ मा कफी, अदुवा, बाख्रा र कुखुरा, १० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनलाई मुख्य पकेट क्षेत्र छुट्याइएको छ । पकेट क्षेत्र निर्धारण नहुँदा कृषकले लथालिङ्ग तरिकारले चार पाँच बालीसम्म लगाउने गरेका छन् भने यसले गर्दा सोचेअनुसार आम्दानी हुन सकेको छैन । पकेट क्षेत्र निर्धारणपछि खेती गर्न सहज, उत्पादन पनि बढ्ने आशा गरिएको छ ।