
ललितपुर। राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफीको नयाँ मूल्य निर्धारण गरेको छ । बैठककले चालु आर्थिक वर्ष २०७६/०७७ मा कफीको न्यूनतम उत्पादन मूल्य निर्धारण गरेको सूचना अधिकारी गौरव लुईटेलले बताए ।
नयाँ निर्धारित मूल्यसूची अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रति केजी ८५ रुपैयाँ र ग्रेड ‘बी’ को ७५ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी पार्चमेण्ट कफीको हकमा ग्रेड ‘ए’ को ४ सय २५ रुपैयाँ र ग्रेड ‘बी’ को ३ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ । ड्राई चेरी कफीको हकमा ग्रेड ‘ए’ को १ सय ४० रुपैयाँ र ग्रेड ‘बी’ को ९० रुपैयाँ कायम गरिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्डको तथ्यांक अनुसार हाल नेपालका २० जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदैं आएको छ। विश्व बजार र आन्तरिक बजारमा यतिबेला १४ देखि १५ हजार मेट्रिकटनसम्म नेपालको अराविका जातको कफीको माग भए पनि नेपालमा हाल ५ सय ३० मेट्रिकटन मात्र कफी उत्पादन हुने गरेको छ ।
नेपालमा अराविका र अर्गानिक जातको कफी उत्पादन हुँदै आएको छ । कफी खेती नेपालमा १२ लाख हेक्टरमा रोपण गर्न सकिने भएपनि हाल करिव २८ सय हेक्टर क्षेत्रफलमा मात्र कफी रोपण र विस्तार गरिएको छ ।