भरतपुर। चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो ।

पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौँ, ढकालले भने, किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौँ । तिहार अगाडि नै कार्यविधि निर्माण गरी अनुदान दिइनेछ ।

नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई रु १० लाख बीउ पूँजीसमेत दिइने बताए। नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरीद गरी व्यावसायिक बन्न मद्दत पुग्ने उनको विश्वास छ । यसले नगरभित्रका निम्न आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने ढकालले बताए। बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदै गएको छ । विगतमा आफैँलाई मासु पुर्‍याउन यहाँका बासिन्दालाई धौधौ हुने गरेको थियो । अहिले माडीका किसानले मासु बिक्री गरिरहेका छन् ।

माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फार्म स्थापना गर्नुभएका नीलकण्ठ काफ्ले बाख्रापालनको सम्भावना राम्रो भएको बताए। उहाँ छ वर्षदेखि बोयर जातको बाख्रापालन गर्दै आएका छन् । बजारको समस्या छैनु, काफ्लेले भने, अनुदानको व्यवस्था भएपछि थप राहात मिलेको छ । माडीमा झण्डै ३०० व्यावसायिक बाख्रा फार्म छन् ।