चितवन। बाख्रापालनलाई व्यावसायीकरण गरी उत्पादन बढाउने उद्धेश्यले चितवनमा एशिया क्षेत्रीय बाख्रा बिज्ञहरुको अन्तरराष्ट्रिय सम्मेलन आइतवारबाट शुरु हुंँदैछ ।
कृषि तथा वन विश्वविद्यालय, रामपुरको परिषरमा अमेरिका क्यानडा,जापान, ईटाली, पाकिस्तान, भारत लगायत १७ देशका ११७ विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आयोजक संस्था कृषि तथा वन विश्वविद्यालय,रामपुरले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । सम्मेलनमा नेपालमा बाख्रापालनको संभावना, चुनौती र श्रोत व्यवस्थापन सम्बन्धी छलफल हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै सम्मेलन मूल आयोजक समितिका अध्यक्ष प्रा डा शारदा थपलियाले मासुको खपत बढ्दै गएको अवस्थामा बाख्रापालनमा नवीनतम प्रयोग गरी उत्पादनमा बृद्धि गर्न विज्ञ सम्मेलन हुन लागेको जानकारी दिइन् ।
बाख्राको खाद्य श्रोत,बाखा्रको आनुवांशिक तथा जैविक प्रजनन, स्वास्थ्य तथा रोग व्यवस्थापन र बाख्राजन्य उत्पादनको प्रविधि र विकास सम्बन्धी विधालाई समेटेर ६० मौखिक, ४३ पोष्टर सहित ११७ भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने छन् ।
सन् २०१८को तथ्यांक अनुसार नेपालमा १ करोड २८ लाख बाख्रा रहेका छन् । नेपालमा बिशेषगरी खरी, जमुनापारी,च्यांग्रा, सिन्हाल र बोयर जातको बाख्रा पाल्ने गरिएको छ । सम्मेलन कात्तिक ६ गते सम्म चल्नेछ ।









