
ललितपुर। बाली बिमा भन्नाले कृषकहरूले व्यक्तिगत निजी तथा व्यावसायिक प्रयोजनका लागि गरिएको खेतीको जोखिम हस्तान्तरण हो । बाली बिमा गर्नका लागि पहाडमा भए न्यूनतम आठ आना र तराईमा भए एककठ्ठा क्षेत्रफलमा बाली लगाइएको हुनुपर्नेछ ।
बाली लगाउँदादेखि बाली पाक्दासम्म लाग्ने लागत मूल्यलाई बिमांक रकम कायम गरिन्छ । यस्तो लागत मूल्य नेपाल सरकार कृषि मन्त्रालयमार्फत उपलब्ध गराइएको तथ्यांकको आधारमा कायम गरिनेछ । यो बिमा देशमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरूबाट गर्न सकिनेछ ।
बाली बिमा गर्दा कृषकले केही प्रक्रिया पूरा गर्नुपर्छ । बाली बिमा गर्न इच्छुक कृषकले प्रस्ताव फारम भरी बिमा कम्पनीमा बुझाउनुपर्छ । यसको लागि कृषि सेवा केन्द्र, उपकेन्द्र वा मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि विषयमा आधारभूत ज्ञान हासिल गरी सम्बन्धित निकायबाट सो सम्बन्धमा कार्य गर्ने इजाजत प्राप्त प्राविधिक व्यक्तिले सम्बन्धित बालीको बिमाको लागि प्रमाणित गरिदिनुपर्छ । तब मात्रै बिमाका लागि प्रस्ताव फारम कम्पनीमा पेस गर्न सकिनेछ ।
सो प्रस्ताव फारममा सम्बन्धित बिमा कम्पनीका बाली बिमासम्बन्धी कार्य गर्ने कर्मचारीले अध्ययन गरी उचित र मनासिव लागेमा बाली बिमाको बिमालेख जारी गर्छन् । बाली बिमा गर्दा कृषकले कुल बिमांकको ५ प्रतिशतका दरले बिमा शुल्क भुक्तानी गर्नुपर्छ । उक्त शुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कृषकहले बिमाशुल्कको २५ प्रतिशत मात्रै भुक्तानी गरे पुग्छ ।
उदाहरणका लागि कुनै आलु खेतीको एक सिजनका लागि लागत मूल्य अर्थात् बिमांक १ लाख रुपैयाँ रहेछ भने १ लाखको ५ प्रतिशत ५ हजार रुपैयाँ बिमा शुल्क भयो भने उक्त बिमाशुल्कको ७५ प्रतिशत अर्थात् ३ हजार ७ सय ५० नेपाल सरकारले अनुदान दिने र बाँकी १ हजार २ सय ५० मात्र सम्बन्धित कृषकले बिमाशुल्क भुक्तानी गरी १ लाखबराबरको बिमा गराउन सक्नेछ ।
दाबी कसरी गर्ने ?
बिमा गरिएको बाली बिमालेखमा उल्लेख गरिएको जोखिमका कारण हानी नोक्सानी भएमा कम्पनीले क्षति पूर्ति भुक्तान गर्छ । यसको लागि कृषकले बिमा कम्पनीमा दाबी गर्नुपर्छ । बाली नोक्सान हुने बित्तिकै कृषकले प्राविधिको सिफारिसमा क्षति भएको बालीको विवरणसहित दाबी गर्न सक्छन् ।
तर, बाली लगाइसकेपछि समय–समयमा बालीलाई दिनुपर्ने मलजल, गोडमेल गरेको, बालीलाई लाग्ने विभिन्न प्रकारका रोगहरूको निदानका लागि समयमै प्रयास गरेको, बालीको उचित व्यवस्थापन गरेको हुनुपर्नेछ । यसका बाबजुद पनि विभिन्न रोगका कारणले हुने क्षति तथा दैविक प्रकोपबाट भएको क्षतिका लागि सम्बन्धित बिमा कम्पनीलाई क्षतिपूर्ति गर्न गरिने आग्रहलाई दाबी भनिन्छ ।
बाली बिमालेखअन्तर्गत कुनै हानी नोक्सानी भएमा त्यस्तो हानी नोक्सानीको निरीक्षण गर्ने र बिमालेखको आधारमा क्षतिको मूल्यांकन गर्ने कार्य सम्बन्धित बाली विशेषज्ञ वा प्राविधिक व्यक्तिद्वारा गराइनेछ । दाबी गर्दा बिमा कम्पनीको ढाँचामा रहेको दाबी फारमलाई राम्रोसँग भर्नुपर्छ ।
साथै सम्बन्धित प्राविधिकलाई क्षतिको मूल्यांकन गराई पेस भएको विवरण तथा कम्पनीले दाबीका लागि आवश्यक भनी उल्लेख गरेको कागजातहरूसहित दाबीको भुक्तानीका लागि लिखित निवेदन पेस गर्नुपर्छ । तत्पश्चात सम्बन्धित बिमा कम्पनीको दाबी विभागबाट उक्त कागजागहरूको अध्ययन गरी प्राविधिकको प्रतिवेदनको आधारमा सम्बन्धित बिमा कम्पनीले दाबी भुक्तानी गर्दा घटना घटेको समयमा भएको बास्तविक क्षति वा कुल बिमांक रकमको ९० प्रतिशतसम्म दाबी भुक्तानी गर्नेछ ।
बिमकले बिमा दाबीका लागि प्राप्त कागजातहरूको तत्काल छानबिन गरी ३० दिनभित्र दाबी भुक्तानी गर्नेछ । बाली तथा पशुपन्छी बिमाको दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएपछि सात दिनभित्र छानबिन गराई दायित्व यकिन गरी भुक्तानी गर्नेछ ।