ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले चालु आर्थिक वर्षभित्रै किसानलाई निवृत्तिभरणको व्यवस्था गर्ने तयारीमा सरकार लागेको बताउनु भएको छ।

किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचयपत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय किसान आयोगको वार्षिक समिक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले किसानलाई परिचयपत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पार्नुभयो।

त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाइ छ। मन्त्री खनालले किसानलाई परिचयपत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो ।

हरिहरभवनस्थित कृषि विभागको सभा हलमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनाललाई आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७६ हस्तान्तरण गर्नुभएको थियो।