ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याएको खसीबोका तथा च्याँग्राको मूल्य कायम हुन नसक्दा विक्री वितरण हुन सकेको छैन ।
बिभिन्न जिल्लाबाट ल्याइएका ती खसीबोकाको स्थानीय बजारमा मूल्य महंगो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए ।
बजारमा निजी क्षेत्रका व्यावसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसीबोका तथा च्याँग्रा काठमाडौंमा ल्याएर उपभोक्तालाई सहुलियतमा विक्री गर्दै आएको छ ।
दाङ र विरगञ्जबाट गरी १ हजार खसीबोका तथा मुस्ताङबाट २ हजार च्याँग्रा ल्याउन लागिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसीबोका तथा च्याँग्रा खरीद हुने गर्दछ ।
अहिलेसम्म ५५० च्याँग्रा र १८० खसीबोका काठमाडौं आइसकेको तथा अन्य आउने क्रममा छ । सोमवार बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट विक्री शुरु गरिने जनाइएको छ ।
अघिल्लो वर्ष खसीबोका जिउँदो प्रतिकिलो रू.५०० तथा च्याँग्रा प्रतिकिलो रू.७०० मा उपलब्ध गराइएको थियो ।









