हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कतार तरकारी निर्यात गर्न चाँडै सम्झौता हुने बताउनु भएको छ। प्रदेश विकास परिषद्को पहिलो बैठक हेटौंडामा उद्घाटन गर्दै उहाँले प्रदेशभित्र उत्पादित तरकारी निर्यात गर्न पहल भैरहेको बताउनुभयो ।
‘नेपाली कृषकले उत्पादन गरेको मौसमी तरकारी कतारमा निर्यात गर्ने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकार र कतारबीच केही दिनमै सम्झौता हुनेछ ।’ प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको बताउँदै उहाँले कृषि क्षेत्रको विकास गर्न स्वयंसेवक खटाउने तयारी भैरहेको बताउनुभयो ।
प्रदेश सरकारले पूर्वाधार निर्माण कम्पनी र निजी क्षेत्रका लगानीकर्तालाई सुविधा उपलब्ध गराउने बताउँदै मुख्यमन्त्री पौडेलले उद्योग क्षेत्रको विस्तार गरी उत्पादन वृद्धि गर्न जोड दिइने बताउनुभयो ।
बैठकमा प्रदेश विकास परिषद् सदस्य रहेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. मुकुन्दप्रसाद पौडेलले प्रदेश ३ को प्रथम योजना तर्जुमाका पाश्र्व सिद्धान्तहरु, योजनाका लक्ष्यलगायतका विषयहरु प्रस्तुत गरेका थिए । पौडेलले प्रस्तुत गरेको लक्ष्यमा आर्थिक वृद्धिदर ११ दशमलब ५ रहेको छ, जसमा कृषिको औसत वृद्धिदर ५ दशमलब ५ र गैरकृषिको वार्षिक औसत वृद्धिदर ११ दशमलब ७ प्रतिशत रहेको छ ।
यस्तै, सीमान्त पुँजी उत्पादन अनुपात ४ दशमलब ८.१ रहेको छ भने योजना अवधीमा ३२ खर्ब, ३८ अर्ब लगानी आवश्यक रहेको देखिन्छ । उक्त लगानीका लागि सरकारी क्षेत्रले २९ प्रतिशत गर्ने, निजी क्षेत्रबाट ६२ प्रतिशत र ९ प्रतिशत सहकारी क्षेत्रबाट लगानी गर्नुपर्ने देखिएको सचिव डा. पौडेलले प्रस्तुतिका क्रममा बताएका छन् । प्रदेश ३ सरकारले प्रथम आवधिक योजनाबाट प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन ४ लाख ५ हजार पु¥याउने लक्ष्य रहेको उनले बताएका हुन् ।









