झापा। झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् ।

फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् ।

गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष पनि सामूहिक रुपमा सयपत्री फूलको व्यावसायिक खेती गरेकी छिन् । चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर सामूहिक फूलको खेती गर्दै आएकी हुन् । दमक–३ नवकिरण टोलमा उद्यमी महिला समूह गठन गरेर गतवर्ष देखि शुरु गरेको सयपत्री फूलको व्यवसायिक खेतीलाई यसवर्ष पनि निरन्तरता दिइएको समूहकी अध्यक्ष विष्णु खड्काले बताईन् । गतवर्ष सात कठ्ठामा सयपत्री फूल लगाएका महिलाले यसवर्ष पनि सोही जमीनमा खेती गरिएको उनले बताइन् ।

उनका अनुसार गत वर्षको भन्दा केही अघिनै यसवर्ष सयपत्री फूल रोपिएको छ । जैविक तथा प्राकृतिक रुपमा गरिएको खेतीबाट तयार पारिएका माला प्रतिवटा रु १०० मा बिक्री हुने गरेको छ । समूहले उत्पादन गरेको फूल दमकको बजारमा नै खपत हुँदैआएको छ । गतवर्ष पनि सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्यै आम्दानी भएपछि यसवर्ष पनि समूहले यो खेती लगाएको अध्यक्ष खड्का बताईन् । उनले भनिन्,“फूलखेती व्यावसायिक बनाउन सके प्रशस्त आम्दानी लिन सकिने रहेछ ।”

व्यावसायिक सयपत्रीखेती गर्न समूहमा ११ जना महिला संलग्न रहेकी छन् । ११ जना महिलाले घरायसी चुलोचौको सकेर फूल स्याहार्न दैनिकी बनाएकी छिन् । “समूहमा काम गर्न सजिलो भएको छ”, अध्यक्ष खड्काले भनिन्,“सयपत्री फूल वर्षभरि उत्पादन गर्न सकिए, यसबाट मनग्य आम्दानी लिन सकिन्छ । हामी अहिले त्यसैको तयारीमा जुटेका छौ ।”

समूहले गरेको फूल खेतीले दमकको बजारमा छुट्टै परिचय दिएसँगै आम्दानी समेत लिन थालेपछि वडाका अन्य महिलाले पनि चाडपर्व लक्षित सयपत्री फूलको खेती गर्न थालेकी छिन् ।
यस्तै विर्तामोडमा समेत महिलाले व्यावसायिक फूलखेती गर्दै आएका छन् ।

उद्यमी गोमा भट्टराईका अनुसार बिर्तामोड–४ मा करीब डेढ बिगहा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्दै आएको छ । फूलखेती सम्बन्धी तालीम लिएरै फूलखेती शुरु गरिएको उल्लेख गर्दै उनले आफूलाई आवश्यक पर्ने फूलको बिरुवा समेत आफैँ उत्पादन गर्दै आएको बताइन् । गतवर्ष फूलबाट मनग्यै आम्दानी गर्न सफल भएपछि समूहले यसवर्ष रु एक लाख ५० हजार बढीको बिरुवासमेत बिक्री गरेको भट्टराईले बताइन् ।

उत्पादित फूलको बिरुवा झापासहित पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र मोरङका बजारमा बिक्री गरिएको र यो वर्ष पनि सयपत्री फूलको २२ हजार बिरुवा लगाएको उनले बताइन् । प्रत्येक बोटबाट औषतमा पाँचबाट माला उत्पादन हुने भएकाले यस वर्षको तिहारसम्म रु पाँच लाखभन्दा बढीको फूलको माला बिक्री गरिने लक्ष्य लिएको उनले जानकारी दिइन् ।

माग छ, धान्न अझै कठिन :

नेपालमा व्यावसायिक रुपमा फूलखेती गर्नेको सङ्ख्या कमै छ । तर, भारतमा भने भने व्यावसायिक रुपमा नै अत्याधिक फूल उत्पादन हुने गर्दछ ।

भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेको यहाँका फूल व्यवसायीको भनाइ छ । “हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन, त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न नेपाली व्यापारी बाध्य छन्”, उद्यमी भट्टराईले भनिन्, “नेपाली बजारमा समेत स्थानीय फूलले विस्तारै बजार लिन थालेकाले आफूहरु यसको व्यवसायिकतातर्फ क्रियाशील भएको छु । ” चाडपर्वका समयमा मात्र जिल्लामा करीब रु तीन करोड मूल्य बराबरको फूल भारतबाट आयात हुने गरेको अनुमान फूल व्यवसायीको छ ।

भारतीय बजारले प्रभाव जमाएको सीमावर्ती झापामा फूलको बजार भए पनि मागलाई स्थानीय फूलको उत्पादनले मात्र धान्न अझै कठिन भएको उद्यमीहरुको भनाइ छ । उद्यमी भट्टराईले जिल्लामा फूलको बजार भए पनि आवश्यक फूल उत्पादन हुन नसकेको बताइन् । उनले जिल्लामा फूलको अभाव टार्न करीब १५ बिघा क्षेत्रफलमा फूलखेती गर्न आवश्यक रहेको जानकारी दिइन् ।

आयआर्जनको प्रमुख स्रोतका रुपमा फूलखेतीले बिस्तारै बजार ओगट्दै गएकाले पनि यसको व्यावसायिकतामा जोड दिन सकिए धेरै स्वरोजगार बन्ने उनको भनाइ छ । उनले विगतका वर्षमा एक बिघा जमीनमा लगाएको फूलबाट मनग्य आम्दानी गरेपछि फूलखेतीतर्फ आकर्षित भएको बताइन् । “फूलको बजार रामो छ”, उद्यमी भट्टरार्ईले भनिन्, “तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघिदेखि नै फूलको माग उच्च भएको छ । ”

स्थानीय सङ्घ, संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा पनि फूलको माला लगाई दिने चलन बढ्दै गएपछि स्थानीय फूलको माग बढ्दै गएको हो । सयपत्री फूल खेतीका लागि चार महीना खट्नसके राम्रो आम्दानी लिन सकिने किसानको भनाइ छ । बीउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा रु एक लाखसम्म खर्च हुने भए पनि त्यसले तेब्बर बढी आम्दानी गर्न सकिने उद्यमी भट्टराईको दाबी छ ।

वर्खामा भारतबाट कम फूल आयत हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने अर्का उद्यमी कञ्चना बरालले बताइन् । बजारमा फूलको माग भए पनि फूलखेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली उपभोक्ता बाध्य हुनुपरेको उनको भनाइ छ ।