चितवन। विगत दुई वर्ष यता अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यावसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

संघले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रू.२७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रू.२२५ हाराहारीमा विक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।

दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् ।

पूर्वी चितवनमा कुखुरा पाल्दै आएका संघका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रू.१० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रू.७ हाराहारी मात्र पाउन सकेको बताउँछन् । एउटै अण्डामा रू.३ भन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले बताए ।

केही महीनाअघि अण्डाको मूल्य प्रतिक्रेट रू.१२० सम्म झरेको भन्दै उनले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताए । पोल्ट्री व्यावसायी डा तिलचन्द्र भट्टराईले व्यावसायीबीचको आन्तरिक समस्याका कारण मूल्यमा वृद्धि हुन नसकेको बताए ।

कुखुरा व्यावसायी मदन पोख्रेल उत्पादन बढी भएको तर खपत गर्न नसकेका कारण कृषकले मूल्य नपाएको बताउँछन् ।साना किसानको खोर खाली हुन थालेको र ठूलाले एक बैंकबाट अर्कोमा ऋण सारेर रकम बढाउँदै पेशा धान्ने काम मात्र गरिरहेको पोख्रेलको भनाइ थियो ।

संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल व्यावसायीबीचमा एकापसमा लडाइँ गर्दा आफैं सिद्धिने भएकाले मिलेर जानुको विकल्प नभएको बताउँछन् । पोल्ट्री क्षेत्रमा लगानी भएको रू.१ अर्बभन्दा बढीमध्येको आधा हिस्सा अण्डा उत्पादनमा लगानी भएको उनी बताउँछन् ।

अण्डा उत्पादन गर्ने कृषकले मूल्य नपाए पनि किनेर खाने उपभोक्ताले भने प्रतिगोटा रू. १५ हाराहारी तिर्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच तह पार गर्नुपर्ने भएकाले विचौलियाले लाभ लिए पनि कृषक र उपभोक्ता दुवै ठगिएका छन् ।

हाल नेपालमा ७ हजारभन्दा बढीले कुखुरा पालेको अनुमान छ । उनीहरुका फार्ममा २ लाखभन्दा बढी मजदुरले काम गर्ने कँडेलले बताए ।