वैकुण्ठ सापकोटा कुखुरालाई चारो दिँदै थिए । मोबाइलमा घण्टी बज्यो । “हेलो हजुर अन्त कहाँ हुनु र आफू त कि खोरमा कि गरामा”, फोनमा सापकोटाले भने । कसैले कहाँ हो भनी सोधे हिजोआज उनले दिने जवाफ प्रायः यही हुन्छ ।

उमेरले ४६ लागेका सापकोटाको निन्द्रा बिहान ४ बजे खुल्छ । कुखुराको स्याहार, दानापानी गरिसक्दा ६ बज्छ । चियासँगै ७ बजे घरमुनिका ‘टनेल’मा पुग्छन् । तरकारी रेखदेख, गोडमेल र पानी हाल्दा एक घण्टा बित्छ ।

‘टनेल’बाट सापकोटा बाख्राको खोरतिर लाग्छन् । बाख्रा बाहिर सार्ने, घाँसपानी गर्दा केही समय कट्छ । बाख्राको सुसारपछि उहाँ घाँसको जोहोका लागि खरबारीतिर लाग्छन् । फर्केर खाना खाँदा ११ बजिसकेको हुन्छ ।

मध्याह्नपख कुखुराको अण्डा टिप्ने बेला हुन्छ । केहीछिनमा फेरि कुखुराको दानापानी चल्छ । बाख्रालाई दिउँसोको घाँसपानी पनि गर्ने पर्‍यो । साँझपख एकचोटी ‘टनेल’ पनि नपुगी हुँदैन । कुखुरा, बाख्राको खोरमा र ‘टनेल’मा खट्दैमा साँझ छिप्पिन थाल्छ ।

खाना खाइवरी सुत्दा रातको १० बज्छ । कहिले खोरमा त कहिले बारीका गरामा गरेर बागलुङ नगरपालिका–३ रातामाटाका सापकोटाको दैनिकी गुज्रन्छ । “विसं २०४९ देखि कृषितिर लागेको हुँ”, विगत सम्झँदै उनले भने, “बाहुनको छोराले कुखुरा पाल्यो भनेर अरुले मेरो खिसीट्युरी गर्थे ।”

त्यतिबेलैदेखि सापकोटाको घरमा तरकारी खेती, गाई र कुखुरापालन सुरु भएको थियो । पढाइमा स्नातक सापकोटाले क्याम्पस पढ्न आउँदा डोकोमा दूध र तरकारी बोकेर बागलुङ बजार झर्थे । “तरकारी बेचेर पहिलो वर्ष रु ७० हजार कमाएको थिएँ”, उनले विगत सम्झँदै भने ।

घरपरिवारले निर्वाहमुखी कृषि गर्दै आएकामा सापकोटाले त्यसलाई व्यावसायिक रुप दिएका हुन् । झण्डै १० वर्ष गैरसरकारी संस्थामा रही दिगो भू–व्यवस्थापन र प्राङ्गारिक तरकारी खेती प्रवद्र्धनमा काम गरेको अनुभव पनि उनीसँग छ ।

सुरुमा सानो लगानीमा कृषि उद्यम सुरु गरेका सापकोटाले विसं २०६४ बाट लगानी र उत्पादन बढाउनुभएको हो । बीचमा तरकारी खेती मात्रै गरेको उनले गएको वर्षदेखि बाख्रा र कुखुरापालनसमेत सुरु गरेका छन् ।

‘सापकोटा कृषि फार्म’ नै स्थापना गरेर कृषि उद्यमलाई अघि बढाएको सापकोटाले बताए । ‘फार्म’ मा ३०० बढी स्थानीय ‘साकिनी’ जातका कुखुरा छन् । जमुनापारि र खरी ‘क्रस’ जातका २० वटा बाख्रा छन् । दुई वटा प्लाष्टिक घर ‘टनेल’ मा प्राङ्गारिक तरकारी खेती छ ।

तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख ७३ हजार अनुदान उपलब्ध गराएको छ । रु एक लाख ४२ हजार व्यक्तिगत लगानी छ । ‘टनेल’मा काँक्रा, बोडीलगायतका तरकारी र बिरुवा उत्पादन भइरहेको छ । ‘फार्म’मार्फत गँड्यौला मल उत्पादन, भकारो सुधार, जैविक विषादी निर्माणलगायतका काम पनि हुँदै आएको छ ।

बाख्रा र कुखुरापालनमा रु सात लाख छुट्टै लगानी भएको छ । बाख्रालाई घाँस व्यवस्थापनका लागि वार्षिक रु २० हजारमा जग्गा भाडामा लिएको सापकोटाले बताए । “बाख्रा र कुखुरापालनमा राम्रो आम्दानी छ”, उनले भने, “एउटै बोका रु ४७ हजारसम्ममा बिक्री गरेको छु ।”

स्थानीय जातको कुखुरापालनबाट पनि सापकोटा सन्तुष्ट छन् । पछिल्लो चार महिनाको अवधिमा रु एक लाखभन्दा बढीका भाले बिक्री गरेको उनले बताए । “मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उनले भने, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन ।”

काठमाडौँ, हेटौँडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, सापकोटाले भने, “स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।”

ज्यूँदो कुखुरा प्रतिकिलो रु सात सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक १५० भन्दाबढी अण्डा दिन्छन् । कुखुरापालनबाट मासिक रु ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् ।

सापकोटालाई कृषि पेशामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउछन् । “कृषिलाई नै मुख्य पेशा बनाउनुभएको छ, मेहनती हुनुहुन्छ”, श्रीमती जमुनाले भनिन्, “घरपरिवारको पनि उत्तिकै साथ छ, कृषिबाटै हामी आत्मनिर्भर छौँ ।”

सीप भएको र मेहनती किसानका रुपमा चिनिने सापकोटाको कृषि कर्मबाट अरुले पनि पाठ सिक्नुपर्ने छिमेकी हिमाल शर्माले बताए । “स्वदेशमै कृषि गरेर सफल हुन सकिन्छ भन्ने राम्रो उदाहरण उहाँ बन्नुभएको छ”, शर्माले भने ।

सापकोटाका छोरा निशान खाद्य प्रविधि विषय अध्ययनरत छन् । ठूली छोरी स्नातक र कान्छी छोरी कक्षा १२ मा पढ्दै छन् । छोराछोरीको पढाइदेखि सबै घरव्यवहार कृषिबाट आएको आम्दानीले धानिएको छ ।

कृषिमा लगानी बढाएर अरुलाई पनि रोजगारी दिने सोचमा सापकोटा छन् । बेमौसमी तरकारी उत्पादनको पनि उहाँसँग राम्रो ज्ञान छ । सापकोटाले केही वर्षअघि पुस महिनामै घिरौँला फलाएको विषयले चर्चा पाएको थियो ।