परिचय
कोदो नेपालमा उत्पादन हुने अन्न बालीहरु मध्ये धान, मकै र गहुँ पछिको चौथौ महत्वपुर्ण बाली हो । आर्थीक बर्ष २०७१ ७२ को कृषि तथ्यांङ्क अनुसार २,६८,०५० हेक्टर जमीनमा कोदो खेती गरिएको थियो भने यसको बार्षिक कूल उत्पादन ३०८४८८ मेट्रिक टन र उत्पादकत्व १.१५ टन प्रति हेक्टर भएको थियो । यो परिणाम नेपालको कूल खाद्यान्न उत्पादनको ३.८१ प्रतिशत हुन आउँछ । नेपालको मध्य पहाड कोदो उत्पालन हुने प्रमुख क्षेत्र हो । यस क्षेत्रमा मकैमा घुसुवा बालीको  रुपमा कोदोको खेती गरिन्छ । र कतै कतै सुख्खा जमीनमा एकल बालीको रुपमा पनि लगाईएको पाइन्छ । बिशेषगरी देशको पूर्वी र मध्य भागको पहाडी क्षेत्रमा घुसुवा बालीको रुपमा र पश्चिमी भेगको पहाडी क्षेत्रमा एकल बालीको रुपमा कोदोको खेती गरिन्छ  तापनी यसको क्षेत्रफल अत्यन्त न्यून छ । विश्वमा कोदो बालीको बार्षिक उत्पादन करिव ४५ लाख मेट्रिक टन हुन्छ । बिश्वका २५ भन्दा पछि अफ्रिकी र एसियाली देशहरुमा कोदोको  खेती गरिन्छ भने कोदो उत्पादन गर्ने मुख्य देशहरुमा भारत , युगाण्डा र चिन हुन ।
काब्रे कोदो २
यो जातको पैतृक श्रोत थाहा नभए पनी २०४५ सालमा दक्षिण एशियाली क्षेत्रिय सहयोग सगंठन भित्र सचांलन गरिएको जातीय परीक्षण मार्फत यो जात प्राप्त भएको थियो । तत् पश्चात निरन्तर रुपमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका बिभिन्न अनुसन्धान संस्थाहरुको सहकार्यको परीक्षणबाट प्राप्त आंकडा अनुसार पहाडीबाली अनुसन्धान कार्यक्रम , काब्रे, दोलखाले उन्मोचनको लागी प्रस्तावना पेश गरि राष्ट्रिय बिउबिजन उन्मोचन समितिले २०७२ सालमा काब्रे कादो–२ नामको जात नेपालको पहाडी क्षेत्रको लागी सिफरीस गरेको हो ।
जातिय पहिचान तथा बिशेषता
यस जातको बोटको औषत उचाई ९० सेन्टि मिटर तथा लगाउने स्थान बिशेष अनुसार १२८– दिन भित्र पाक्ने गर्दछ । या जातको बोटको आख्लां र गुच्छाको औंलाको रगं फुल्ने बेलामा हरियो तर पाक्ने समयमा औंलाहरु बिस्तारै हल्का खैरो रगंमा परिणत भई भित्रपट्टि घुम्रिएका हुन्छन । त्यसै गरि यसको एउटा गुच्छामा औषत ६ वटा औंलाहरु हुन्छन र तिनको लम्बाई ६ से.मि. हुन्छन । यो जातको दानाको रङ्ग फिका रातो र अन्य जातको भन्दा केहि ठुलो हुन्छ । साथै यो जातले सुख सहने, नढल्ने, औंला र घाटीमा लाग्ने मरुवा र पातमा लाग्ने थोप्ले रोग सहन सक्दछ ।
काब्रे कोदोमा पाईने पौष्टिक तत्वहरु प्रतिशतमा
जात                प्रोटिन    खरानी     चिल्लो      कच्च फाईबर       क्याल्सियम      फस्फोरस      फलाम
काब्रे

कोदो-२         ७.०३     २.१९        १.३८          १.६४                    ३७९                 २५८              ४.२६

सिफारिस गरिएका क्षेत्र
समुद्रि सतहबाट ७०० मिटर देखि १८०० मिटर सम्म उचाईको मध्य पहाडी क्षेत्रको लागी सिफारिस गरिएता पनि यो जात तराई तथा भित्री मधेशमा पनि खेति गर्न सकिन्छ ।
हावापानी
यो जात मध्य पहाडी क्षेत्रको भिराला पाखाहरुमा बर्षे बालीको रुपमा लगाउन सकिन्छ । यसले सुख्खा सहन सक्ने भएकोले यसको खेतिका लागी धेरै पानी चाहिदैन तर बढी उत्पादनका लागी एक दुइ पटक सिंचाई गर्नु राम्रो हुन्छ । सामान्यतया उपोष्ण हावा पानी भएको, बार्षिक बर्षा ७५ देखि १०० मि.मि. र तापक्रम ११ देखि २७ डिग्री से. हुने स्थानमा यो जातको खेती उपयुक्त मानिन्छ। तर अधिक बर्षा हुने ठाउंहरुमा रोग लाग्न सक्ने भएकोले पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ ।
माटो
यसको सफल खेतिका लागी हल्का बलौटे र पानी नजम्ने पाँगो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि. एच. ५ देखि ८.२ सम्म यसको लागी उपयुक्त मानिन्छ ।
बिउको छनौट
बढी उब्जनीका लागी उन्नत जात र  स्वस्थ बीउको छनौट गर्नु पर्दछ । त्यसैले बीउको छनौट गर्दा ठुलो, पोटिलो, कीराले नखाएको, रोगका दाग नभएको, अन्य झारपातको बीउ र बेजातको बीउ नमिसिएको र ७५ प्रतिशत भन्दा बढी उमारशक्ति भएको बीउ छान्नु पर्दछ ।
बीउ दर
प्रति एकाई क्षेत्रफलमा बोटको सख्यां उचित भएमा राम्रो उत्पादन हुने हुंदा गुणस्तरिय बीउको छनौट हुनु आवश्यक छ । बीउमको मात्रा, बीउको आकार प्रकार, छर्ने समय, छर्ने तरिका, माटोमा चिस्यानको मात्रा साथै बीउको शुद्धता, उमारशक्ति, जीवितपन आदी अनुसार फरक पर्ने भएता पनि साधारणतया १० के.जि. प्रति हेक्टर र ५०० ग्राम प्रति रोपनी बीउको आबश्यकता पर्दछ ।
ब्याड राख्ने तथा रोप्ने समय
कोदोको बीउ राख्ने र रोप्ने समय हावापानी र मौसमको आधारमा स्थान अनुसार फरक पर्दछ । साधारणतया कोदो रोप्नु भन्दा १ महिना पहिले बीउ राख्नु पर्दछ  र ३०–३५ दिनको कोदोको बेर्ना रोप्न उपयुक्त हुन्छ । पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे, दोलखामा गरिएको अनुसन्धानमा मध्य पहाडी क्षेत्रमा असार महिनाको पहिलो सातामा लगाइएको कोदोले राम्रो उत्पादन दिने र त्यसभन्दा पहिले रोपेको कोदोको नल धेरै हुने पाइएको छ । मध्य पहाडी क्षेत्रमा कोदोखेती गर्दा भौगोलिक अवस्थाको आधारमा असार देखि श्रावण महिना सम्म रोप्ने गरिन्छ ।
जमिनको तयारी
सामान्यतया मकै बाली भित्र घुसुवा बालीका रुपमा कोदो लगाईने भएकाले मकै बारी भित्र कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कोदोको बेर्ना रोप्ने प्रचलन छ । तर एकल बालीको रुपमा कोदो खेति गर्न हलो वा ट्याक्टरले एक दुइ पतटक राम्ररी जोते पछि डल्ला फोरेर झारपात हटाएर जमिनको तयारी गर्नु पर्दछ । कोदो रोप्न माटो मसिनो र मिहिन बनाउनु पर्दैन तर कोदोको बीउ छरेर छरुवा खेति गर्नका लागी भने माटोलाई मसिनो बनाउनू नै उपयुक्त हुन्छ । कोदो खेति गरिने जमिनमा पानी जम्ने अवस्था आउन नदिन पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ ।
मलखाद
अन्य बाली जस्तै कोदोको बृदि र बिकासका लागी पनि मलखादको आवश्यकता पर्दछ । बिशेषगरी कोदो खेती गर्दा प्रयोग गर्नु पर्ने मलखादको मात्रा लगाउने जात, माटोको प्रकार र बाली लगाउने तरिका आदी कुराहरुमा निर्भर गर्दछ । तसर्थ माटोको परिक्षण गराएर मात्र माटोमा अपुग तत्वहरु उपयुक्त मात्रामा प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । पहाडीबाली  अनुसन्धान कार्यक्रम , काब्रे दोलखाले कोदो खेतीका लागी युरयिा ३.६७ किलो ग्राम , डि. ए .पी  ३.२६० किलो ग्राम , पोटास १.६६६ किलो ग्राम र २० –२५ डोका प्राङ्गारीक मल प्रति रोपनीका दरले प्रयोग गर्न सिफारीस गरेको छ । यसरी मल प्रयोग गर्दा पोटास र डि.ए.पी. को पुरै मात्रा र युरियाको आधा मात्रा मल जमीनको अन्तीम तैयारीको समयमा प्रयोग गर्नु पर्दछ र युरियाको बाकी आधा मात्रा गाँज आउने समयमा टपड्रेस गर्नु पर्दछ । नेपालको धेरै स्थानहरुमा मकै छर्दा प्राङ्गारीक मल प्रयोग गर्ने  र कोदो रोप्दा मल प्रयोग नगर्ने चलन भए पनि कोदोको उत्पादन बढाउन उचित मात्रामा मलखाद प्रयोग गर्न आवश्यक हुन्छ ।
रोप्ने तरिका
पहाडीबाली अनुसन्धान कार्यक्रम काब्रेले हालसम्म गरेको परिक्षणमा प्रति वर्गमिटर क्षेत्रफल जमिनमा १०० बोट कायम गर्दै आएको छ । सामान्यतया रुखो जमिनमा कोदो खेती गर्दा मलिलो माटोको तुलनामा बोट संख्या बढि कायम गर्नपर्ने हुन्छ । कोदोको बेर्ना लाइनमा रोप्ने हो भने एक हारदेखि अर्काे हारको दूरी र एक बोटदेखि अर्काे बोटको दूरी से.मी. कायम गर्दा राम्रो उत्पादन लिन सकिन्छ ।
सिंचाई
कोदोको बर्षायाममा लगाइने हुदाँ सुख्ख सहन सक्ने वाली भएकाले र साधारणतया खेती गर्दा सिंचाई गर्नु पर्दैन । तर सिंचाईको सुबिधा उपलब्ध भएमा र जमिन बढि सुख्खा छ भने गाजँ हाल्ने र फूल फूल्ने समयमा सिंचाई गर्दा उत्पादन बढ्ने देखिन्छ ।
झरपात व्यवस्थापन
पाखो बारीमा एकल बाली वा मिश्रित वालीको रुपमा कोदो खेति गर्दा झारपातले समस्यम उत्पन्न गर्दछ । ब्याड राखेको २५ दिनमा एक पल्ट गोडमेल गर्दा बेर्नाको बिकास राम्ररी हुन्छ । सामान्यतया मकैसँग मिश्रित वा एकल बालीको रुपमा कोदो खेाि गर्दा दुई पटक झारपात गोडमेल गर्नु आवश्यक हुन्छ ।
रोग कीराको ब्यवस्थापन
यस जातमा लाग्ने मुख्य कीरामा गवारो खुम्रे कीरा , फट्याङग्रा , झुसिलकीरा , लाही , खपटेकीरा आदी हुन तापनी यस बालीको उतपादनमा खास नोक्सानी पु¥याएको  पाइदैन । बेर्ना र पातको डढुवा , पातको थोप्ले रोग , मरुवा , कालो पोके आदी कोदोमा लाग्ने मुख्य रोगहरु भए पनि यो जातले यी रोगहरु सहन सक्ने भएकाले बिषदी प्रयोग गर्नु पर्देन ।
बाली काट्ने र चुट्ने
यो जातको कोदो रोपेको पाँच महिनामा काट्न तयनर हुन्छ । पाक्ने बेला भएपछि त्यसका ओंलाहरु भित्र तर्फ खम्रिएर खैरो रङ्गका हुन्छन् । नेपालका बिशेषगरी दुई तरिकाबाट कोदो काटिन्छ । कतै हँसियाले कोदोका झप्पाहरु काटेर कपडाको थैलो वा बोरामा ३–४ दिनसम्म राखेपछि लाठीले कुटेर वा गोरुले दाइँ गरेर कोदो झारिन्छ भने कतै कोदोको नल सहित पुरै बोट काटेर त्यसलाई ३–४ दिनसम्म सुकाएरपछि चुटेर झार्ने गरिन्छ ।
उत्पादन
यस जातको कोदोको औषत उत्पादन क्षमता २.५६ टन/हे र परालको उत्पादन क्षमता ९.३ टन / हे  भएको पाइन्छ ।
भण्डारण
पाकेपछि झारीएको कोदोको २–३ दिन चर्काे घाममा राम्ररी सुकाएर उचित चिस्यान (११ प्रतिशत)  सहित भण्डारण गर्ने हो भने १० बर्षसम्म भण्डारण गर्न सकिन्छ ।

(पहाडीवाली अनुसन्धान कार्यक्रम काब्रे दोलखा)