कृषकले एउटै जमिनलाई लामो समयसम्म नर्सरीको रुपमा प्रयोग गर्ने प्रथाले पनि रोग कीराको प्रकोप बढाउनुको साथै बेर्नाको गुणस्तरमा ह्रास आई उत्पादन र गुणस्तरमा गिरावट आइरहेको छ ।

यस्तो परिस्थितिमा परम्परागत बेर्ना उत्पादनको विकल्पको खोजी विगतदेखि नै भइरहेको छ । यसको बिकल्प भनेको पछिल्लो समय प्रचलनमा आएको प्लास्टिकको ट्रेमा बेर्ना उत्पादन प्रविधि हो।

कोकोपिट जुन नरिवलको जटा लाई क्रसिंग गरेर बनाइएको हुन्छ त्यसको एक भाग परलाइट र एक भाग कम्पोस्ट मल वा भर्मी कुलेट मिसाएर ट्रे को प्वालमा भरेर बेर्ना उत्पादन गरिने यो प्रविधिका विभिन्न फाइदा रहेका छन्।

प्लास्टिक ट्रेमा बेर्ना उत्पादनका फाइदाहरु :
बीउको उमार प्रतिशतमा वृद्धि हुने ।
तरकारी उत्पादनमा १६ देखि २१ प्रतिशत सम्म वृद्धि हुने ।
पानीको राम्रो निकास हुने हुँदा ढुसी जन्य रोगको प्रकोपबाट बचाउन सकिने ।
बाख्राको मल स्थानीय स्तरमा सजिलै उपलब्ध हुने हुँदा आर्थिक दृष्टिकोणले किफायती हुने ।
स्वस्थ बेर्नाको उत्पादन गर्न सकिने ।
बेर्नाको वृद्धि मिडिया जरामा मल वा मिडिया टाँसिरहने हुँदा विरुवा रोप्दा लाग्ने तनावमा कमी भई उत्पादन गर्न लाग्ने समय घटाउन सकिने ।
उत्पादनमा वृद्धि हुने र बालीमा रोग कीराको प्रकोप कम हुने ।
तरकारी वेर्ना उत्पादनका ठूला समस्याहरु जस्तै जरा कुहिने रोग, जुका, खुम्रे र फेद कटुवा कीराको प्रकोपबाट बचाउन सकिने ।
माटोमा घुलनसिल मल तथा सूक्ष्म तत्वहरुको प्रयोग सजिलै गर्न सकिने ।
जैविक ढुसीनाशक विषादीहरु जस्तै ट्राइकोडर्मा आदिको प्रयोगले विरुवालाई रोगबाट बचाउन सकिने ।
प्लाष्टिक ट्रेलाई जाली घरभित्र राखी विरुवा उत्पादन गरिने हुँदा बालीलाई भाइरसको प्रकोपबाट बचाउन सकिने ।
सिंचाईको लागि पानीको प्रयोगको किफायत हुने । सिंचाई गर्नमा सहजता हुने ।

वेर्ना उत्पादन प्रविधि :
बजारमा तरकारीको वेर्ना उत्पादन गर्नको लागि विभिन्न आकारका प्लाष्टिक ट्रे उपलब्ध छन् । जसमध्ये १०५ कोठाको प्लाष्टिक ट्रे निकै प्रचलनमा छ । विरुवाको प्रकृति र आकार अनुसार प्लाष्टिक ट्रे फरक–फरक आकारका पाइन्छन् । बेमौसममा लहरे बालीहरु जस्तै काँका, फर्सी,करेला आदिको लागि ठूलो साइजको र अन्य तरकारी बालीहरु जस्तै गोलभेंडा, भान्टा, भेंडे खुर्सानी, खुर्सानी आदिको लागि सानो खोपिल्टा भएको प्लाष्टिक ट्रे पाइन्छ ।

ट्रेमा राख्ने मिडिया :
प्लाष्टिक ट्रेमा राख्नको लागि पनि विभिन्न किसिमका मिडियाहरु प्रचलनमा छन् । जसमध्ये कोकोपिट नरिवलको जटा कुहाएर बनाएको मिडिया संसारभर तरकारी वेर्ना उत्पादनको लागि सवैभन्दा प्रख्यात छ । कतै कतै भर्मि कम्पोष्ट, माटो, बालुवा र गोवर मलको समानुपातिक मिश्रणपनि प्लाष्टिक ट्रे प्रविधिमा प्रयोग गरेको पाइन्छ ।

त्यस्तै भर्मिकम्पोष्ट र गोवर मलको मिडियामा बेर्नाको जरामा राम्रोसंग डल्लो नपर्ने र पानी समाती राख्न नसक्ने हुँदा त्यति उपयुक्त देखिदैंन। यस सन्दर्भमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुराले आर्थिक वर्ष २०७१/०७२ मा स्थानीय स्तरमा उपलब्ध विभिन्न वस्तुहरुलाई मिडियाको रुपमा प्रयोग गरी गरेको परीक्षणमा राम्ररी कुहिएको बाख्राको जुतो सवैभन्दा राम्रो देखिएको छ । स्थानीय रुपमा सर्वसुलभ रुपमा सजिलै उपलब्ध हुने हु“दा बाख्राको जुतो–मल प्लाष्टिक ट्रे प्रविधिमा प्रयोगका लागि कोकोपिटको विकल्पको रुपमा पहिचान गरिएको छ ।

प्लाष्टिक ट्रे भर्ने र बीउ लगाउने :
यस प्रविधिका लागि सबैभन्दा पहिले राम्ररी कुहिएको बाख्राको जुतो संकलनगरी धूलो हुनेगरी काठ वा ढुंगाले पिस्नुपर्छ । त्यसमा १० ग्राम ट्राइकोडर्माको धूलो प्रति किलोग्राम जुतोमा पर्ने गरी मिसाउनु पर्दछ । त्यस पछि उक्त्त मिश्रणलाई प्लाष्टिक ट्रेमा भर्नु पर्दछ र भरिएको प्लाष्टिक ट्रेको खाल्डोमा अर्को खाली ट्रेको पछाडि पट्टीको पिंध पर्ने गरी च्याप्नु पर्दछ ।

जसले गर्दा भरिएको प्लाष्टिक ट्रेमा १.५ सेन्टिमिटर सम्मको खाल्डो परोस । यसरी बनेको खाल्डोमा तरकारीको एक एक बीउ पर्ने गरी राख्नु पर्दछ र माथिबाट मलले छोपिदिनुपर्छ ।

ट्रे राख्ने ठाँउको छनौट तथा निर्माण :
भाइरस र त्यसलाई सार्ने कीराबाट बेर्नालाई बचाउनको लागि जाली घरभित्र ट्रे राख्नु उपयुक्त हुन्छ । ट्रे राख्नका लागि ट्रेको लम्बाइको भागबाट दुईवटा ट्रे अटाउने आकारको जमिनबाट ५ देखि १० सेन्टिमिटर उठाएर बेड निर्माण गर्नुपर्दछ । दुईवटा बेडको बीचमा आवत जावत गर्ने गरी ३० देखि ५० सेन्टिमिटर चौंडा र जमिनको सतह देखि ५ देखि १० सेन्टिमिटर सम्म गहिरो ग्याप राख्नुपर्दछ ।

यसरी बनाइएको बेडलाई राम्ररी सम्याएर प्लाष्टिक ओछ्याई ट्रेहरुलाई सिलसिलाबद्ध रुपमा राख्नु पर्दछ । चिस्यान बचाई राख्न ट्रेमा बीउ नउम्रिउन्जेल सम्मलाई माथिबाट प्लाष्टिक वा परालले ढाकिदिनु पर्दछ । बीउ उम्रिन बालीको प्रकृति र बातावरणको तापक्रम अनुसार ३ देखि ७ दिन सम्म लाग्दछ ।

बीउ राखिसके पछि हरेक दिन हजारीको सहायताले सिंचाई गर्नु पर्दछ । उपलब्ध भए सम्म बीउ छरेको १२ दिनबाट पानीमा घुलनसिल मल र सूक्ष्म तत्व सिंचाई संगसंगै दिन सकिन्छ । ट्रेमा सधै चिस्यान कायम गर्न अवस्था हेरर हरेक दिन सिंचाई गरिरहनु पर्दछ तर ढुसी जन्य रोगको आक्रमणबाट बचाउन धेरै पानी जम्न दिनुहुँदैंन

विरुवा कडा बनाउने :
बेर्ना रोप्न योग्य भइसकेपछि खेतमा रोप्नु भन्दा पहिले अनुकूलनका लागि केही दिन बेर्ना कडा बनाउनु पर्दछ । यसका लागि केही दिन विरुवालाई सिंचाइ गर्न बन्द गरी दिनु पर्दछ र सकेसम्म बेर्नालाई सूर्यको प्रकाशमा देखाउनुपर्दछ ।

बेर्ना उखेल्ने :
बेर्ना उखेल्नु भन्दा ४ देखि ५ घण्टा भन्दा पहिले राम्ररी भिज्ने गरी सिंचाई गर्नु पर्दछ ।

ढुवानी :
प्लाष्टिक ट्रेमा उत्पादन गरिएको वेर्नालाई गाडी, साइकल वा ठेलामा राखेर टाढा टाढासम्म पनि सुरक्षित ढुवानी गर्न
सकिन्छ । यसरी ढुवानी गर्दा जमिनमा राखेको बीउ भन्दा प्लाष्टिक ट्रेमा उत्पादन गरेको विरुवा सुरक्षित हुन्छन् । यसरी ढुवानी गर्दा हावाबाट बचाउन भने त्रिपाल वा कपडाले छोप्नुपर्दछ ।

(कृषि विज्ञ राजेन्द्र देवकोटा र केदार बुडाथोकिको सहयोगमा )