ललितपुर। नेपाल राष्ट्र बैैंकले कृषि क्षेत्रको कर्जामा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएको छ ।

मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यदि ऋण दिन नमिल्ने भएमा के कारणले दिन नसकिएको हो ग्राहकलाई जानकारी दिन पनि बैंकले निर्देशन दिएको छ ।

यस्तै कृषि ऋण दिँदा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।

साथै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कृषिमा कूल कर्जाको एकतिहाइ कर्जा लगानी गर्नै पर्ने निर्देशन जारी गरेको छ ।

कूल कर्जाको एक तिहाइ कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसो नभएमा नपुग रकममा २०७७ सालको असार मसान्तदेखि लघुवित्त संस्थाले गणना अवधिमा कर्जामा लिने अधिकतम ब्याजदरले हुने रकम हर्जना तिराइने राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले नै लघुवित्त संस्थाले एक तिहाइ कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

यस्तै कृषि क्षेत्रमा दिएको कर्जाको मासिक विवरण १५ दिनभित्र राष्ट्रबैंकमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।