उच्च पहाडी तथा चिसो हावा पानी भएको क्षेत्रमा यो रोगको समस्या ज्यादा भएको पाईन्छ । रोगको समयमा नै रोगको नियन्त्रण गर्न नसकेको खण्डमा यस रोगको प्रकोपको कारण उत्पादनमा २० देखि ६० प्रतिशत सम्म हानी पु¥याउदछ । जुन माटोमा यस रोगको जिवाणु स्थापित भैसकेका हुन्छन त्यहाँ भारी मात्रामा क्षति भएको पाइन्छ ।

लक्षणहरु :

यो रोगबाट संक्रमित विरुवा अन्य स्वस्थ विरुवा भन्दा कमजोर तथा हल्का हरियो देखिन्छ । जमिनको सतहमा डाँठको सबैभन्दा तल्लो भागमा ऐजेरु देखा पर्छ । माटो माथि बनेका ऐजेरु खैरा वा हरिया हुन्छन ।

छिप्पिसकेपछि काला देखिन्छन र पछि कुहिन्छन । ऐजेरोहरु त्यान्द्राको टुप्पा र आलु दानाको आखाँबाट बढ्न थाल्छन । जबसम्म डाठँको तल्लो भाग वा दानाहरु हेरिदैन ऐजेरुयुक्त रोगी बोट भने चिन्न त्यति सजिलो हुदैन ।

कारक जीवाणु र रोगचक्र:
यो रोग सिन्काइट्रियम इन्डोवायोटिकम (Synchytrium Endobioticum) नामक ढुसीबाट हुन्छ । ऐजेरुयुक्त कुहिएको दानाबाट असंख्य जुस्पोर बन्दछन । एउटा स्पोरेन्जियमबाट २०० देखि ३०० जुस्पोर बन्दछन । जो कोषिका भित्र प्रवेश गरेर कोषिकाको असामान्य वृृदि गराई ऐजेरु बनाई दिन्छन ।

यस्ता जुस्पोरले जालो नबनाई सिधै आलुको कोषिका भित्र पस्दछन र विभिन्न अवस्था पार गर्दै ऐजेरोको रुप दिन्छन । यो रोग बीउ र माटो दुबैबाट सर्दछ । माटोमा प्रसस्त चिस्यान र तापक्रम १२ देखि १४ डिग्री सेन्टिग्रेड भएमा जीवाणु अति तिब्र रुपमा फैलिन्छ ।

माटोमा चिस्यान कम भएमा २ वटा जुस्पोर मिली जाईगोट बनाउँदछन । यि जाईगोट संक्रमित माटोमा ३० बर्ष सम्म बाच्न सक्दछन । रोगी दानाहरु पशुले पनी पचाउन सक्दैनन । गोवरबाट पनी यो रोग फैलिन सक्दछ । माटोको तापक्रम २० डिग्री सेन्टिग्रेड भन्दा बढि भएमा जीवाणु सक्रिय हुदैनन ।

रोकथाम:
१. ऐजेरु रोग अवरोधी आलुको जातहरु एन.पि.आइ १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेब, खुमल सेतो १, खुमल रातो २ आदि जातका बीउहरुको प्रयोग गर्ने ।
२. रोगको लक्षण देखिएका दानाहरु गहिरा खाडलमा गाड्ने वा जलाई नष्ट गर्ने रोगी दाना पशुहरुलाई पनी नखुवाउने, बारीमा नछोड्ने र रोगी दानाबाट कम्पोष्ट पनी नबनाउने ।
३. ऐजेरु रोगको प्रयोग हुने गरेको आलु उत्पादन हुने क्षेत्रहरु पहिचान गर्ने । आन्तरिक क्वारेन्टाईन चेक पोष्ट खडा गरी ऐजेरु रोग लाग्ने क्षेत्रबाट अनेत्र बीउ ओसार पसारमा कानुनी रोक लागाउने ।