ललितपुर। असार सकिन केही दिन मात्र बाँकी छ तर धान रोपाइँंको अवस्था हेर्ने हो भने भर्खर असार लाग्न सुरू भएको जस्तो मात्र देखिन्छ । धान रोपाइँं जम्मा २३ प्रतिशत मात्र सम्पन्न भएको छ । मुख्य समयमै रोपाइँं कम भएपछि उत्पादन कम हुने सुनिश्चित छ ।

सातवटा प्रदेशमध्य कर्णाली प्रदेशमा सबैभन्दा धेरै (धान) रोपाइँं सम्पन्न भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा सबभन्दा धेरै ५१.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

विभागका अनुसार कर्णाली प्रदेशमा असार २२ गतेसम्ममा ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी १ नम्बर प्रदेशमा मा १८.४५ प्रतिशत, २ नम्बर प्रदेशमा १०.२५ प्रतिशत, ३ नम्बर प्रदेशमा २०.९९ प्रतिशत, गण्डकी प्रदेशमा २८.५३ प्रतिशत, प्रदेश नम्बर ५ मा २९.५१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत मात्र रोपाइँ सम्पन भएको छ ।

यसरी हेर्दा समग्रमा सातवटै प्रदेशमा जम्मा २३.६७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । तथ्यांक अनुसार गत वर्ष यही अवधिमा ५२.५३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

धान रोपाइँको जिल्लागत अवस्था हेर्ने हो भने मुगुमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

नेपालमा धान रोपाइँ हुने १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफल मध्य हाल सम्म ७ लाख २६ हजार २ सय ९७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष यही अवधिको रोपाइँको अवस्था हेर्दा १ नम्बर प्रदेशमा ४१.५९ प्रतिशत, २ नम्बर प्रदेशमा ५३.५७ प्रतिशत, ३ नम्बर प्रदेशमा ४६.९३ प्रतिशत, गण्डकी प्रदेशमा ७२.२५ प्रतिशत, ५ नम्बर प्रदेशमा ५६.१८ प्रतिशत, ६ नम्बर प्रदेशमा ६५.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यसरी हेर्दा यो वर्ष हालसम्मको अवधिमा गत वर्षको भन्दा २९. १९ प्रतिशत कम हो ।

त्यसैगरी, भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा ३४.६४ प्रतिशत, मध्यपहाडमा ३१.१५ प्रतिशत र तराईमा २०.६१ प्रतिशत मात्र रोपाइँ भएको छ । जुन गत वर्ष उच्च पहाडमा ६१.६५ प्रतिशत, मध्यपहाडमा ५५.६१ प्रतिशत र तराईमा ५१.५८ प्रतिशत रोपाइँ भएको थियो ।

नेपालमा वार्षिक ६० लाख मेट्रिक टन धान खपत हुने गरेको छ । जसमध्य १० लाख टन धान बाह्य देशबाट आयात गरिन्छ । जसको लागि २२ अर्बभन्दा बढी खर्च हुन्छ ।