
विराटनगर। प्रदेश १ सरकारले सोमबारबाट खाद्यवस्तुमा रहेको विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो । केही दिन अघिसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी परीक्षणकालागि झापाको बिर्ताममोडमै लैजानुपर्ने वाध्यता अन्त्य गर्न प्रदेश राजधानी विराटनगरमै ल्याव स्थापना गरेको हो ।
सरकारले एक साताको अवधी भित्रै ल्याव स्थापना गरेर सञ्चालनमा ल्याएको जनाएको छ । बाह्य मुलुकबाट आयात हुने हरियो तरकारी वा अन्य खाद्ययवस्तुको प्रयोगशाला परीक्षण गर्नै पर्ने वाध्यकारी व्यवस्था संघीय सरकारले ६ महिनाकालागि पर सारेपछि विराटनगरमा स्थापना भएको प्रयोगशालाले आन्तरिक उत्पादनको परीक्षण गर्ने र थोक बजारका नमुनाहरु संकलन गरी परीक्षण गर्ने गरी प्रयोग गर्नसक्छ ।
प्रदेश सरकारले २५ लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना गरेको हो । प्रदेश सरकारले विषादी अवशेष दु्रत विश्लेषण इकाई स्थापना गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । त्यसलाई बाली संरक्षण प्रयोगशालासँगै राखेर सञ्चालन गरिएको छ ।
प्रदेश सरकारले किसान र व्यवसायीहरुलाई आफ्ना उत्पादन र बजारमा आएका खाद्यवस्तु खान योग्य भए नभएको परीक्षण गराउन पनि सूचना मार्फत जानकारी दिएको छ ।
४५ मिनेटमा छुटिन्छ विषादी :
यो प्रयोगशालामा दुई समूह (कार्बोनेट र अर्जेनोफास्टर) विषादी परीक्षण गर्न सकिने छ । यो विषादी तरकारी तथा फलफूलमा अत्यधिक प्रयोग हुने समूहमा पर्छ ।
प्रयोगशालाले दैनिक ७० वटासम्म परीक्षण गर्न र ४५ मिनेटमा एउटा रिपोर्ट दिन सक्ने विषादी परीक्षण शाखाका प्राविधिक सहायक घनश्याम बरालले बताए । परीक्षणले तरकारी तथा फलफूलमा विषादीको मात्रा कति छ भन्ने थाहा हुन्छ ।
आइतबार मात्रै बाली विज्ञान प्रयोगशाला र स्थानीय बजारबाट तरकारीको नमुना संकलन गरिएको थियो । संकलित तरकारीमा प्रयोग गर्न नमिल्ने मात्रामा विषादी भेटिएन ।
‘पहिलोपटक नमूना परीक्षण गर्दा ६ इनिविसन प्रतिशत विषादी भेटियो’ उनी भन्छन् ‘३५ इनिविसन प्रतिशत भन्दा माथि विषादी देखिए प्रयोग गर्न मिल्दैन ।’
प्रदेश सरकारले आगामी वर्ष धरानमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा ल्याउने बताएको छ । यसका लागि करिव डेढ करोड लाग्ने अनुमान । यो ल्याब सञ्चालनमा ल्याए सबै प्रकारको विषादी परीक्षण गर्ने सकिनेछ ।
गत बिहीबारको क्याबिनेट निर्णयले विषादी परीक्षण गर्ने अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला काठमाडौंमा मात्रै भएको र अन्य भन्सार न्दिूमा त्यस्तो प्रशयोगशाला नभएको भन्दै निर्णय फिर्ता लिएको हो ।
मन्त्रिपरिषद बैठकले यथाशीघ्र प्रयोगशालाहरु निर्माण गर्न कृषि मन्त्रालयलाई भनेको छ । तर, बिराटनगरमा यस्तो प्रयोगशाला तयार भइसकेता पनि भारतीय तरकारी र फलफूलको परीक्षण भने तत्कालका लागि नहुने मन्त्रिपरिषदले बाटो खोलिदिएको छ ।