स्याङ्जा। रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा छन् ।

घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आएकी केसीले कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले यो व्यवसायलाई विस्तार गर्न लागेकी हुन् । हाल १५ घार मौरी पाल्दै आएकी उनले वार्षिक करीब रु दुई लाख कमाउँदै आएको बताइन् । वालिङ नगरपालिका– १० नं वडा कार्यालयले मौरीपालन गर्ने किसानका लागि तालीम दिएपछि आफूमा थप हौसला मिलेको केसीले बताइन् ।

वडाध्यक्ष अनन्तराज गैरेले किसानका लागि आवश्क तालीमका साथै कृषि औजार उपलब्ध गराउँदै आएको बताए । पूर्वशिक्षक वालिङ– ११ डौवाका श्याम अर्याल पनि मौरीपालन व्यवसायमा रमाउँदै आएका छन् । आफ्नै घरमा मौरीपालन गरेका उनले यो व्यवसायबाट वर्षमा रू आठ÷दश लाखसम्म कमाउन गारो नहुने बताए ।

विसं २०६१ मा एक घार मौरी पाल्न शुरु गरेका अर्यालका अहिले ८० घार मौरी छन् । मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बेच्ने भएकाले मौरीका घारको सङ्ख्यामा घटबढ भइरहने उनले बताए ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेएका अर्यालले मौरी पाल्न गर्न चाहानेका लागि सल्लाह सुझावसमेत दिँदै आएका छन् । जिल्लामा करीव १५० किसानले मौरीपालन गर्दै आएका छन् ।