ललितपुर। नेपालका ३२ जिल्लामा व्यावसायिक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालका ३२ जिल्लामा व्यावसायीक कफी खेती भैरहेको तथ्यांक सार्वजनिक गरेको हो ।

नतिजा अनुसार ती जिल्लाका कुल ९७६ हेक्टर जमिनमा कफीको व्यावसायिक खेती भैरहेको छ । कुल ६ हजार ३४६ कृषक व्यावसायिक कफी खेतीमा आवद्ध रहेको विभागको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षण अनुसार कफी खेतीका लागि काभ्रेपलाञ्चोक जिल्ला सवैभन्दा अगाडि देखिएको छ । क्षेत्रफल, उत्पादन र कृषकको संख्यालगायत सवै आधारमा काभ्रे अग्रणी देखिएको हो ।

काभ्रेमा सवैभन्दा बढी १०४ दशमलव ३ हेक्टर क्षेत्रफलमा सवैभन्दा बढी वार्षिक २२१ मेट्रिक टन कफी उत्पादन भएको छ । काभ्रेमा ९४३ कृषक/व्यवसायी कफीको व्यावसायिक खेतीमा सक्रिय रहेका छन् । यी कृषक/व्यवसायीहरुले वार्षिक रुपमा १ हजार ५७३ मेट्रिक टन फ्रेस चेरी उत्पादन गरेको सर्वेक्षणले देखाएको छ ।

क्षेत्रफलका आधारमा दोस्रो जिल्ला ललितपुरको ९६ दशमलव ३ र तेस्रो जिल्ला स्याङ्जाको ९४ दशमलव १ हेक्टरमा कफी खेती भएको छ । यसैगरी उत्पादनका आधारमा दोस्रो जिल्ला स्याङ्जामा १५८ र तेस्रो जिल्ला सिन्धुपाल्चोकमा १४१ मेट्रिक टन कफी उत्पादन भएको छ ।

कृषक/व्यवसायीको आधारमा दोस्रो जिल्ला सिन्धुपाल्चोकमा ७५३ र तेस्रो जिल्ला स्याङ्जामा ७०८ कृषक/व्यवसायी कफीको व्यावसायिक खेतीमा संलग्न भएको देखिएको छ ।

सवेक्षणले मुलुकका ४ प्रदेशमा मात्रै व्यावसायिक रुपमा कफी खेती भइरहेको देखाएको छ । प्रदेश १, ३, ५ र गण्डकी प्रदेशमा मात्रै कफीको व्यावसायिक खेती भइरहेको छ । प्रादेशिक रुपमा प्रदेश ३ मा सवैभन्दा बढी कृषक/व्यवसायी संलग्न भएको र सवैभन्दा बढी क्षेत्रफलमा सवैभन्दा बढी फ्रेस चेरी उत्पादन भएको सर्वेक्षणले देखाएको छ ।