सिरहा । तराई–मधेशमा भोजभतेर, चाडपर्व र पाहुनालाई सम्मानस्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धान लोप हुने अवस्थामा पुगेका छन् ।

अठार वर्षअघि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयातित चामल प्रयोग गर्ने गरिन्छ । जल उपभोक्ता समिति सप्तरी हरिपुर–३ का अध्यक्ष शिवप्रसाद चौधरी आयातित चामल नै बढी उपभोग हुने गरेको बताउछन् ।

उनका अनुसार विगत १७ वर्षयता लोप हुने धानको जातमा हरिकिरण, करियाकामत, बास्मती, घुसरी, चननचुर, गहुँमा, नाजिर, कनकजिर र भाल्सरलगायत छन् । खाँदा स्वादिलो, बास्नायुक्त र स्वास्थ्यवद्र्धक मानिने यी प्रजातिका धान लोप हुनाका प्रमुख कारणमा यिनीहरुको उत्पादन क्षमतामा नै कमी रहेको उनको कथन छ । लहान नगरपालिका–२३ गाढाका किसान प्रमेश्वर साह भन्छन्, “पुराना जातका जस्तो स्वादिलो अहिलेका जातमा छैनन् तर पनि के गर्नु वर्षभरि खानका लागि पुग्नु त पर्‍यो ।”

यी प्रजातिका धान लोप हुनाको प्रमुख कारण कम उत्पादन हुने, लामो समय लाग्ने, पानी प्रशस्तमात्रामा चाहिने बढी मल प्रयोग गर्नुपर्ने कारणले यस्ता धान लोप हुने अवस्थामा पुगेको किसान साह बताउछन् । चाडबाड र प्रथा बचाइराख्नका लागि भए पनि सीमित वर्गका किसानले थोरै जमीनमा पुरानै जातका धानलाई निरन्तरता दिएको भेटिन्छ ।

सिरहा पडरियाका कृषक ननुलाल चौधरीले आफ्नो परिवारलाई पुग्ने गरी खेतमा बास्मती, करियाकामत धानको बीउ लगाएको छ भने अन्य बाँकी जमीनमा बढी उत्पादन दिने मन्सुली, कान्छी मन्सुली र राधा धानको बीउ रोपेका छन् । ननुलालको कथन छ परिवर्तित समयसँगै लोपोन्मुख यी प्रजातिका धान अध्ययन अनुसन्धान गरी विकसित गर्दै लगेमा फेरि उत्पादन गर्न सकिन्छ ।