लहान। प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको बताउनुभयो ।

सबै खेतमा सिँचाइ, हरेक किसानको हातमा पानी पु¥याउने उद्देश्यले प्रदेश सरकारले व्यापकरूपमा डिपबोरिङ जडान गर्नुका साथै पाँच हजार साना किसानलाई स्यालो ट्युवेल वितरण गर्ने योजना बनाएको मन्त्री साहले बताउनुभयो ।

कृषिलाई आत्मनिर्भर नबनाएसम्म प्रदेश वा देश नै समृद्ध बन्न नसक्ने उल्लेख गर्दै मन्त्री साहले कृषिलाई आत्मनिर्भर बनाएर स्वदेशमै युवालाई रोजगारीको वातारण बनाउने योजनाका साथ प्रदेश सरकार अघि बढेको जानकारी दिनुभयो ।

सप्तरी, सिरहा, धनुषा र महोत्तरीलाई आँप जोनको रूपमा विकास गर्न लागेको उल्लेख गर्दै उहाँले प्रदेश नं २ का तीन जिल्लामा निर्माण हुने आँप प्रशोधन केन्द्रमध्ये एउटा सप्तरीको श्रीपुरमै स्थापना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले प्रशोधन केन्द्र नहुँदा स्थानीय किसानले उत्पादन गरेको आँप सस्तोमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो । उहाँले आँप उत्पादनको अग्रणी रहेको सुरुङ्गा नगरपालिकालाई आँप जोनको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय आँपको प्रचारप्रसारसँगै आँपखेतीलाई प्रोत्साहित गर्दै आँप उत्पादनमा वृद्धि गर्ने उद्देश्यले शुरु भएको महोत्सवमा स्थानीय किसानद्वारा उत्पादित विभिन्न जातका आँपको छ स्टल राखिएको छ ।

सप्तरीमा कूल पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती हुँदै आएको छ । सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा मात्रै ५०० हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको वडाध्यक्ष लीलाकान्त चौधरीले जानकारी दिनुभयो ।