हेटौंडा। मकवानपुर जिल्लालाई बर्डफ्लू रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको छ ।

बर्डफ्लूका कारण हेटौंडा–७, ६ र १६ नम्बर वडाका विभिन्न स्थानमा गरी दुईलाख ८९ हजार कुखुरा मरेका थिए भने ६८ हजार कुखुरा मारिएको थियो । यो संगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागले हेटौंडा–७ नागस्वती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बर्डफ्लू लागेका कुखुरा मारेसंगै करिब साढे तीन महिनाको निरीक्षण पश्चात मकवानपुरलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको हो । पशुसेवा विभागका महानिर्देशक डा. बंशी शर्माले बर्डफ्लू संकटग्रस्त क्षेत्र फुकुवा भएको पत्र पठाएका छन् ।

मकवानपुरका ५४ कुखुरा पालक किसानको मारिएको ६८ हजार कुखुराको ४ करोड ४२ लाख ११ हजार ७४६ रुपैयाँ क्षतिपुर्ती रकम उपलब्ध भएको छ । बर्डफ्लू प्रमाणित भएको र कुखुरा नष्ट गरिएको खोर सफा गरेर दुई हप्ताभित्रमा चल्ला हाल्न सकिने प्राविधिकहरुको भनाई छ ।

‘पशुपन्छी विकास मन्त्रालयको पत्र अनुसार बर्डफ्लू रोग संकटग्रस्त क्षेत्र फुकुवा सम्बन्धमा मन्त्रीस्तरको २०७६/३/९ को निर्णय अनुसार हेटौंडा–७ नागस्वतीमा २०७५ फागुन २७ मा घोषणा भएको बर्डफ्लू रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।