हेटौंडा। जिल्ला प्रशासन कार्यालयको सक्रियतामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ ।

पशुसेवा विभाग काठमाडौंबाट कृषकलाई यही असार ९ गते हेटौंडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत ४ करोड ४२ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६, ७, ८, १४, १५, १६ र १७ मा गरी ५४ कृषकका फर्ममा गत फागुनको पहिलो सातादेखि बर्डफ्लुको प्रकोप देखिएपछि प्रशासनले कुखुरा नष्ट गर्ने अभियान शुरू गरेको थियो । सो अभियानअन्तर्गत प्रशासनले विभिन्न समयमा ६६ हजार ५ सय ४६ कुखुरा नष्ट गरेको थियो ।

कृषकको कुखुरा नष्ट गर्दा प्रत्येक कुखुराबापत ९ सय ४ रुपैयाँ माग गरेपनि पशु सेवा विभागले भने ६ सय ७५ अर्थात् ७५ प्रतिशत रकम उपलब्ध गराएको छ । सो रकम प्रकृति जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालय हेटौंडाबाट वितरण गरिने कार्यालय प्रमुख सानुकाजी पछाईले जानकारी दिए ।