काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताउनुभएको छ ।

कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले आज खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुईदिने छलफलको उद्घाटन गर्दै उहाँले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा खासै ध्यान नदिएका कारण देशका धेरै सरकारी जमीन बाँझो रहँदै अन्य मुलुकसँग परनिर्भर बन्नुपरेको औँल्याउनुभयो ।

मन्त्री खनालले नेपाललाई आवश्यक बीउबिजन र खाद्यान्न आपूर्तिमा समस्या हुनु नेपालका वैज्ञानिकको कमजोरी भएको बताउनुभयो ।

“नेपालको कृषितर्फको संयन्त्र बलियो निर्माण गर्न सकेको छैन”, खनालले भन्नुभयो, “विसं २०३२/३३ तिर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अवस्था निकै राम्रो थियो । त्यसका आधारमा हाल कृषि उत्पादनको क्षमता १० गुणा वृद्धि हुनुपर्नेमा झन खुम्चिँदै गएको देखिन्छ ।” अनुसन्धान क्षेत्रका वैज्ञानिकको सोच र अर्काको नक्कल गर्ने परिपाटी बढ्दै जाँदा नेपालले कृषि क्षेत्रमा अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।

हाल नेपालमा ६६ प्रतिशत किसान कृषिमा आधारित रहेको उहाँले जानकारी दिनुभयो । वितगमा सरकारले कृषि उत्पादनका लागि छुट्याएको जमीन हाल अधिग्रहण हुँदै जानु र सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिनु यस क्षेत्रको समस्या भएको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रमा कार्यरत सरकारी निकायले समग्र कृषि क्षेत्रको विषय उठानभन्दा पनि सरकारसँग बजेटको मात्रै माग गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “नेपालमा किसान कृषिका धेरै क्षेत्र संलग्न भए पनि देश कुखुरा र अण्डाको आपूर्तिमा मात्र आत्मनिर्भर बन्न सफल भएको छ ।”

देश अहिले खसीबोका उत्पादनमा ७० प्रतिशत र पाडा उत्पादनमा ९० प्रतिशत आत्मनिर्भर भएकामा आगामी दुई वर्षमा शतप्रतिशत आत्मनिर्भर बनाउने मन्त्रालयलको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट० का सचिव महेशकुमार अधिकारीले प्रतिष्ठानले कृषिका लागि आवश्यक औजार, बाली, बीउबिजनलगायत क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेको बताउनुभयो ।

नाष्टका प्राज्ञ डा मङ्गलादेवी मानन्धरले नेपालीमा तरकारी कस्तो वातावरणमा हुर्काइएको, कसरी यसलाई खानाका रुपमा प्रयोग गर्ने र कति प्रयोग गर्ने भन्ने जानकारी कमै भएको बताउनुभयो । नाष्टका प्राज्ञ डा. गोपाल केसीले हरेक उत्पादक र किसानले समय समयमा बालीमा गएर तरकारीको अवस्था अवलोकन गर्नुपर्ने जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपालले तरकारी उत्पादनलाई बढावा दिन परम्परागत शैली त्यागी आधुनिक तरिका अपनाउनुपर्ने बताउनुभयो ।

नाष्टका वरिष्ठ वैज्ञानिक सर्जनलाल स्याउलाले कार्यक्रममा नेपालमा उत्पादन हुने तरकारी, यसको अवस्था, यसमा पाइने पोषणतत्व, यसमा प्रयोग गरिने विषादी तथा बागवानीसँग सम्बन्धित नेपालका सबै निकायका विज्ञबीच छलफल हुने र भविष्यमा त्यसबारे पुस्तक प्रकाशन गरिने जानकारी दिनुभयो ।