ललितपुर। सरकारले कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई प्रोत्साहन गर्न बाली धितोमा पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण दिने व्यवस्था मिलाउन सरकार लागिपरेको छ ।

मन्त्रिपरिषदले हालै स्वीकृत व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजनामा बाली धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने व्यवस्था मिलाउने भनिएको छ ।

‘बाली धितो राखी ऋण लिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,’ सरकारले स्वीकृत गरेको कार्य योजनामा उल्लेख छ । यस्तो कार्ययोजना आगामी ६ महिनाभित्र कार्यान्वयनमा ल्याइसक्ने सरकारको भनाइ छ । बाली धितोमा ऋण पाइने व्यवस्थाको कार्यान्वयनबाट कृषि उत्पादनमा वृद्धि हुने सरकारको दाबी छ ।

कृषकलाई प्रोत्साहन गर्नकै लागि सरकारले कृषि कर्जालाई सरल बनाउने, यसको सीमा बढाउने र स्थानीय तहसँग समन्वय गरी वित्तीय साक्षरता बढाई सहुलियतको लक्षित वर्गसम्म पहुँचमा वृद्धि गर्ने कार्ययोजना पनि बनाएको छ । यो कार्ययोजना १ वर्षभित्रमा कार्यान्वयन गरिसक्ने सरकारको भनाइ छ । यसको कार्यान्वयन पनि नेपाल राष्ट्र बैंकले गर्ने भनिएको छ ।

कृषकका लागि ल्याइएको अर्को कार्यक्रममा उत्पादनशील क्षेत्रमा बैंकिङ प्रणालीको कर्जा बढाउने कार्यक्रम पनि छ । हाल उतपादनशील क्षेत्रमा तोकिएको ऋणको प्रतिशतलाई बढाई सम्बन्धित क्षेत्रमा ऋण लगानी नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई थप कडा कारबाही गर्ने सरकारको योजना छ । यस्तो कार्यक्रमको कार्यान्वयनबाट उत्पादनशील क्षेत्रमा बैंकिङ प्रणालीको कर्जा बढ्ने सरकारको विश्वास छ ।