बेझाड। प्रदेश नं. ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ ।
अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् ।
उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित कीर्तिपुरमा बेमौसमी तरकारी खेती शुरु गरेको छ । सहकारीमा आबद्ध पन्ध्र जना युवाले अनुदान पाएपछि अहिले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् ।
तीस रोपनी जग्गा भाडामा लिएर टनेलमा तरकारी खेती शुरु गरेको सहकारीका अध्यक्ष यमबहादुर सारु बताउछन् । “प्रदेश सरकारबाट बजेट परेपछि समूहमा मिलेर तरकारी खेती शुरु गर्न थालेका छौँ, कीर्तिपुर क्षेत्रलाई हरियाली तरकारीमय बनाउने योजना छ”, उनले भने ।
सहकारीले वार्षिक रु ९० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेको हो । काँक्रा, खुर्सानी, घिरौँला, करेला, गोलभेँडा जातका तरकारी लगाएर मनग्य आम्दानी गर्ने सदस्य गङ्गाबहादुर राना बताउनुहुन्छ । “लगानी प्रदेश सरकारले गरिदिएपछि व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ, तरकारी बिक्रीबाट लिएको रकम पूरै बचत गर्न पाइनेछ”, उहाँले भन्नुभयो । सिँचाइको पर्याप्त सुविधा रहेको यो क्षेत्रमा तरकारी खेती गरेर कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।
सूर्योदय कृषि सहकारी संस्था रामपुरले प्रदेश सरकारबाट रु छ लाख अनुदान सहयोग पाएपछि उखु खेती विस्तार गरेको छ । करीब ७० रोपनी क्षेत्रफलमा उखु लगाउँदै आएको सहकारीले अहिले क्षेत्रफल विस्तार गरी १२० रोपनीमा पुर्याएको छ । रामपुर क्षेत्रमा हराउँदै गरेको उखु खेतीलाई पुनः जगेर्ना गर्ने उद्देश्यले विगत तीन वर्षअघि देखि सहकारीले समूहमा उखु खेती गरिरहेको छ । उखु खेतीका लागि प्रोत्साहन दिँदै व्यावसायिक रुपमा विस्तार गर्न प्रदेश सरकारबाट अनुदान रकम प्राप्त भएको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउछन् ।
“रामपुरमा उखुको व्यावसायिक खेती हराइसकेको थियो, उखु खेतीलाई लोप हुन नदिनका लागि सहकारीले व्यावसायिक रुपमा खेती गरिरहेको छ, प्रदेश सरकारबाट प्राप्त बजेटले व्यवसायमा ठूलो राहत मिलेको छ”, उनले भने ।
गएको वर्ष मात्र उखु खेतीबाट करीब साढे चार लाख बराबरको कारोवार गर्न सफल भएको छ । रामपुर नगरपालिका क्षेत्रमा समूहमा लगाइएको सामूहिक उखु खेतीमा अहिले धेरैको आकर्षण बढेको छ ।