नैरोबी। चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताए ।

राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिए । उनले चीनको सहयोगमा आएको चामल एक समारोहबीच केन्याली अधिकारीहरुलाई हस्तान्तरण पनि गरेका छन् ।

सन् २०१७ मा चीन सरकारले केन्याका निम्ति करिब दुई करोड २० लाख अमेरिकी डलर बराबरको आतकालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।

सन् १९६३ मा स्वतन्त्र भएयता केन्यालाई चीन सरकारले १०० भन्दा बढी परियोजनामा वित्तीय सहयोग गरेको छ । यस्तो सहयोगमा अनुदान, निब्र्याजी ऋण र सहुलियत ऋण रहेको छ ।