पोखरा। गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशको नीति तथा कार्यक्रमले आर्थिक समृद्धिका लागि पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक पूर्वाधारमा जोड दिइएको छ ।

दिगो विकासका चार आधार जनता, जमिन, शान्ति र समृद्धिलाई केन्द्रविन्दुमा राखिएको छ । प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख कुँवरले प्रदेशको आर्थिक समृद्धिको सम्बाहकका रूपमा रहेका पर्यटन, कृषि, ऊर्जा, उद्योग र भौतिक पूर्वाधारको विकास गर्न लगानीमैत्री बनाइने घोषणा गरे । पर्यटन व्यवसाय सुरक्षित बनाउन मनाङ, मुस्ताङ र उत्तरी गोर्खामा पर्यटन उद्धार केन्द्र स्थापना गर्ने कार्यक्रम अघि सारिएको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रमले सहकारीलाई घरसम्मै पु¥याउने र हरेक घरका एकजना व्यक्तिलाई सदस्य बनाउने नीति लिएको छ । सहकारीलाई वित्तीय लगानीकर्ताका रूपमा प्रवद्र्धन गर्ने र क्षमता विकास तथा अनुदानका कार्यक्रम दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजनालाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ ।
प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान निर्माण गर्ने योजना नीतिमा समावेश गरिएको छ ।

कास्की र नवलपुरमा प्रदेश औद्योगिक ग्राम निर्माण गर्ने, सबै स्थानीय तहलाई पोखरासँग जोड्ने सडक निर्माण गर्ने, पोखरा भीमाद दुम्कीबास द्र्रुतमार्ग बनाउने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । प्रदेशको गरीबी हटाउन समृद्ध प्रदेश सुखी नागरिक भन्ने दीर्घकालीन सोचाइलाई अघि बढाई १४ दशमलव २ प्रतिशत गरिबीलाई ७ प्रतिशतमा झार्ने र १० दशमलव २ प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रमले सक्षम, सुदृढ, सेवामुखी र भ्रष्टाचारमुक्त प्रशासनलाई जोड दिएको छ भने प्रदेश लोकसेवा आयोग र प्रदेश प्रहरीबारे समेत कार्यक्रममा समेटिएको छ । आमसञ्चारमा कार्यरत पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

२०३ बुँदे नीति तथा कार्यक्रममा पोखरा काठमाडौं लुम्बिनीलाई स्वर्णिम त्रिकोणका रूपमा विकास गरी अन्तरप्रदेश सहकार्यमा जोड दिइने बताइएको छ । यसैगरी, मनाङ मुस्ताङ र गोरखाका उत्तरी भागलाई फिल्म सिटीका रूपमा विकास गर्ने लक्ष्य नीतिले लिएको छ ।
‘ओठदेखि गोठसम्म’, ‘आलीदेखी थालीसम्म’ र ‘बधशालादेखि भान्सासम्म’ भन्दै खाद्यवस्तुमा शुद्धता र माटो परीक्षणमा जोड दिँदै एक पालिका एक शीतभण्डारको समेत लक्ष्य लिइएको छ भने अर्गानिक कृषि प्रणालीलाई विशेष जोड दिएको छ ।

प्रदेशमा मिर्गौला, क्यान्सर र मुटु रोगीका लागि विषेशज्ञ सेवासहितका अस्पताल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।