चितवन। देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय संकटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा संकट देखापरेको हो ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला विक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ ओटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा १ लाख ९० हजार चल्ला उत्पादन गर्छन् भने २५ ओटा कोइलर (रातो ब्वायलर)ले ४ लाख चल्ला उत्पादन गर्छन् । अन्य ब्वायलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाइ छ । ती चल्लामध्ये ब्वायलरको लागत मूल्य प्रतिगोटा रू. ५५ पर्छ । तर बजारमा रू. ३० मा बिक्न कठिन छ । रू. ९५ पर्ने लेयर्स कुखुराको चल्ला रू. ६० मा बिक्न मुस्किल छ भने कोइलरको चल्ला लागत मूल्य हाराहारी रू. ३० मा बिक्न कठिन भएको पोख्रेलले बताए ।

उत्पादन बढेसँगै खपत नहुँदा चल्ला बिक्न मुस्किल भएको व्यवसायीहरु बताउँछन् । चल्ला नबिकेपछि कतिपय खाल्डो खनेर पुर्न बाध्य भएका छन् । कतिपयले अनौपचारिक रुपमा भारतीय व्यवसायीसँग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् ।

भारतमा भन्दा यहाँ चल्लाको मूल्य सस्तो भएपछि सातामा करीब ५ लाख चल्ला र १ लाख अण्डा भारत जाने गरेको जनाइएको छ । व्यवसायीहरुले भाले नलागेको अण्डा बजारमा विक्रीसमेत गर्ने गरेको बुझिएको छ । पोख्रेलका अनुसार वि.सं.२०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्वायलर चल्ला, शतप्रतिशत लेयर्स चल्ला र २०० प्रतिशत कोइलर चल्ला बढी उत्पादन भएको छ ।

गत सालभन्दा २५ प्रतिशत बढी ब्वायलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर कोइलर चल्ला उत्पादन भएको छ । असारसँगै १० लाख बढी लेयर्स चल्ला उत्पादन हुँदैछ । हाल फार्महरुमा ३० लाख ब्वायलर प्यारेन्ट, १ लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोइलर चल्ला रहेका छन् । अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार संघले तोकेको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

हाल अण्डाको लागत मूल्य रू. १० पर्ने भए पनि विक्री मूल्य सरदर रू। ७ मात्र रहेको छ । देशका विभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नुपर्ने अवस्था छ । उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रीका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कँडेलको भनाइ छ । दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत बढी भएको उनको भनाइ छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ७ हजारभन्दा बढी छ । हाल संघले फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रू. २५० र सानो रू. १८० तोकेको भए पनि सो मूल्यमा विक्री हुन नसकेको संघका केन्द्रीय सचिव मदन पोख्रेल बताउँछन् ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय संकटमा पुगेको दाबी गर्छन् । हालै मात्र देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो ।

मकवानपुरमा बर्डफ्लु देखिएको एक महीनापछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षति पुर्‍याएको विष्टको भनाइ छ । संवेदनशील विषय भएर पनि पोल्ट्रीसँग सम्बन्धित् विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिँदा दीर्घकालीन प्रभाव देखिएको बिष्ट बताउँछन् ।

यस क्षेत्रमा लगानी बढ्दो रहेको भन्दै उनले पोल्ट्रीसँग सम्बन्धित् सबै क्षेत्रमा गरी रू.१ खर्ब २५ अर्ब हाराहारी लगानी पुगेको र त्यसको आधा बैंकिङ लगानी रहेको विष्ट बताउँछन् । आफ्नो मात्र यस क्षेत्रमा रू. ६ अर्ब नाघेको भन्दै उनले रू.४ अर्ब ५० करोड थप्दै गरेको बताए । पछिल्लो समय दानाको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत बढेसँगै कृषकले चल्ला र दाना उधारो पाउन सकेका छैनन् । रोगका कारण हच्किएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नुपर्ने भएपछि कुखुरा पाल्न छोड्ने क्रमसँगै व्यावसायमा थप संकट देखापरेको छ ।