ललितपुर। अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । अमेरिका हुँदै भारतसम्म आइपुगेका सो किरा नेपालमा वैशाख २७ गते फेला परेको हो। अन्नबालीमा व्यापक रुपमा नोक्सानी पुर्याउने सो कीरा अमेरिकाको रैथानी किरा हो । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिए ।

मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्याउने गरेको उनले बताए ।

बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो किरा खाना तथा वासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरि नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा  अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको उनले बताए ।

किराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी किराले भविष्यमा बिकाराल रुप लिन सक्ने खतरा रहेको भन्दै प्रमुख शर्माले आम किसानलाई सचेत रहन आग्रह पनि गर्नुभयो ।

अमेरीका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ । यो कीराले गर्दा सन २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।

सन २०१८ मा भारतको कर्नाटका राज्यमा सो कीरा भेटिएको थियो । तत्पश्चात यस किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ । यसका लागि नेपालमा उक्त कीराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षहरुको बृहत अध्ययन अनुसन्धान समेत गर्नेुपर्ने देखिएको छ ।