डोटी। मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो ।

तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, “आवश्यकताअनुसार तरकारी उत्पादन हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।” “तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्”, उनले ।

यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानीय उपभोक्तहरु बताउँछन् । केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्ता सोनु कामीले बताए ।

उनले भने, “प्रतिकिलो रु १०० मा पाइने गोलभेँडा मूल्य अहिले रु २०० पुगेको छ । काउली, सिमी लगायतका तरकारीको भाउ पनि अत्यधिक बढेको छ, यसले हामीलाई धेरै समस्या भएको छ ।” पर्याप्तमात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारणले पनि तराई र भारतका विभिन्न स्थानबाट तरकारी आयात गर्नुपरेको छ । महँगो मूल्यमा आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताए । उनले भने, “जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो ।”

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाबाट समेत तरकारी आयात हुँदै आएको छ । स्थानीय बजारमा अहिले आलु प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ९० कम बिक्री भइरहेका छन् । यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसले पिच्छे तरकारीको मूल्य अलग अलग लिने गरेको उपभोक्ताको गुनासो छ । यहाँका तरकारी पसलमा पसलैपिच्छे अलगअलग मूल्य लिइँदै गरे पनि मूल्यमा एकरुपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, “पसलेपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।”

पशुपालनमा युवाको आकर्षण :

पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ । विदेश जाने तथा सरकारी जागिर मात्रै होइन, आफैँ उद्यम गरेपनि राम्रो मुनाफा लिन सकिन्छ भन्ने विश्वास यहाँका युवामा बढ्न थालेको छ ।

डोटी शिखर नगरपालिका– ५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय सुरु गरेका छन् । डोटी बहुमुखी क्याम्पसबाट पोलिटिकल साइन्स (राजनीति शास्त्र) विषयमा ‘डिग्री’ पढेका बोहराले आयआर्जन गर्न बाख्रापालन व्यवसाय रोजेका छन् ।

नेपाल सरकारले राष्ट्रिय युवा परिषद्अन्तर्गत सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट विनाब्याज रु पाँच लाख ऋण लिएर बोहराले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको हो ।

जिल्ला युवा समिति डोटीमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड डोटी र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर बोहराले व्यवसाय शुरु गरेको बताए । करीब २० वटा बाख्रा खरीद गरेर व्यवसाय शुरु गरेका बोहराका बाख्रा ब्याएर अहिले २९ वटा पुगेका छन् । जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्षसमेत रहेका बोहरा बाख्रापालन व्यवसाय शुरु गर्न पाएकेमा खुशी छन् ।

त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहेका छन् । दश वटा बाख्राबाट शुरु गरेका यो व्यवसायबाट अहिलेसम्म रु ७५ हजार आम्दानी गरेको उनले बताए । उनले भने, “रु १० हजारबाट बाख्रापालन शुरु गरेका हुँ, त्यही बाख्राबाट रु ७५ हजार कमाई सकेँ, राम्रै आम्दानी हुँदैछ ।”

जिल्ला युवा समिति डोटीले युवाउद्यम कार्यक्रमअन्तर्गत गत वर्षदेखि डोटीका दुईवटै निर्वाचन क्षेत्रमा एक÷एक उद्यम समूहलाई आर्थिक सहयोग गरेको जिल्ला युवा समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिए ।

उनले भने, “हामीले युवाहरुलाई पशुपालनमा आकर्षित गराउन र विदेश जानबाट रोक्नका लागि आर्थिक सहयोग गर्दै आएका छौँ, युवा पनि व्यवसायमा लागेका छन् ।” जिल्ला युवा समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामीखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि रु पाँच-पाँच लाख सहयोग गरिएको मल्लले जानकारी दिए ।

जिल्ला युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आयआर्जनमूलक व्यवसाय गर्नुपर्नेमा जिल्ला युवा समिति डोटीका अध्यक्ष बमबहादुर बमले बताए ।

उनले भने, “बेरोजगार भए भनेर गाउँमा बस्नुभन्दा विभिन्न किसिमका उद्यम गर्न कसिनुहोस्, सहयोग हामी गर्छौं ।” युवा पशुपालनमा लाग्न थालेपछि अहिले जिल्लाबाट रोजगारीका लागि विदेशिने युवाको सङ्ख्यामा क्रमिकरुपमा घटन थालेको स्थानीय बासिन्दा बताउँछन् ।