
ललितपुर। विदेशबाट गरिने चिनी आयातमा सरकारले लगाएको परिमाणात्मक बन्देज असार मसान्तसम्म लम्बिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भई गत वर्ष असोज २ गतेदेखि लगाइएको बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । योसँगै अब थप तीन महीनासम्म विदेशबाट चिनी आयात गर्न नपाइने भएको छ ।
चिनी उत्पादक संघको माग बमोजिम सरकारले गत वर्ष मन्त्रिपरिषद्को बैठकबाट वार्षिक १ लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो ।
सरकारको यो निर्णय आउनुभन्दा अघि नै कोटाभन्दा बढी चिनी आयात भइसकेकाले गत वर्ष असोजदेखि यता नेपालमा विदेशबाट चिनी भित्रिएको छैन ।