
खलङ्गा। कर्णालीमा पाइने गुच्चीच्याउ र जङ्गली खाद्यफलको विशेष अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को एक टोली जुम्ला पुगेको छ । च्याउ र जङ्गली खाद्यफलको महत्वका विषयमा स्थानीयलाई जानकारी नहुँदा त्यहाँका विभिन्न जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ र जङ्गली खाद्यफल खेर गइरहेको भन्दै त्यस विषयमा अध्ययन गर्न नाष्टका वैज्ञानिक त्यहाँ पुगेका हुन् ।
वैज्ञानिकको टोलीले जुम्लामा पहिलो पटक जङ्गली खाद्यफल र च्याउको बारेमा स्थानीय जडीबुटी, किसान र सरोकारवाला निकायलाई संरक्षण तथा अनुसन्धानमा लाग्नुपर्ने भन्दै सुझाव सङ्कलन गर्न थालेको छ ।
नाष्टका वैज्ञानिक डा. जयकान्त रावत र डा. लोकरन्जन भट्टले जङ्गली च्याउ र खाद्यफलका बारेमा जुम्लामा स्थानीयलाई जानकारीसमेत दिनुभएको छ । उहाँहरूले जुम्लामा पाइने यार्सा, गुच्चीच्याउ र रातोच्याउलगायत जङ्गली खाद्यफलका बारेमा जानकारी गराउनुभएको हो । जुम्लामा पाइने च्याउ र खाद्यफलबाट राम्रो आम्दानी गर्न सकिने भन्दै नाष्टका वरिष्ठ वैज्ञानिक डा.जयकान्त रावतले संरक्षणमा जुट्न किसान तथा व्यापारीलाई आग्रह गर्नुभयो ।
नाष्टले कर्णालीमा पाइने विभिन्न प्रकारका च्याउ, रैथाने जडीबुटी, किसानको अवस्था र भूगोलको समेत अध्ययन थाल्नुभएको हो । उहाँहरूले किसान रामकृष्ण बुढथापाले च्याउ उत्पादन गरिरहनु भएको क्षेत्र रडिखेल्लालगायतका क्षेत्रह उहाँहरूको अवलोकनका साथै स्थानीय किसान, जानकार र सरोकारवालासँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।
वैज्ञानिक रावतले यसको विस्तृत अध्ययन गरेर जङ्गली फलबाट जाम, जेली र जुसको संभाव्यता अध्ययन गरेर स्थानीय बजार प्रवद्र्धन गर्न सकिने र कृतिम रूपमा उत्पादनका लागि पनि अध्ययन आवश्यक रहेको बताउनुभयो । अहिले च्याउ खोज्ने सिजनसमेत भएकाले विशेष छलफल गर्न सकिने बताउनुभयो ।
जङ्गली खाद्यफल र च्याउको बारेमा स्थानीय, च्याउ व्यापारी र जङ्गली खाद्यफल उपभोग गर्नेहरूसित गरिएको अन्तरक्रियामा स्थानीयले जुम्लामा पाइने गुच्छीच्याउको अध्ययन गर्न सुझाव दिएका छन् ।
जंङ्गलमा भएका सबै प्रकारका जडीबुटी, खाद्यफल र च्याउका बारेमा स्थानीयले थाहा नपाउँदा लाखाँै मूल्य पर्ने जडीबुटी खेर गइरहेकाले सो जानकारी तथा अध्ययन आवश्यक रहेको स्थानीय व्यापारी मिनबहादुर कठायतले सुझाव दिनुभयो ।