कैलाली। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् , कैलालीको घोडाघोडी नगरपालिका ४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौं कमाउछन् ।

प्राविधिक शिक्षा पढेका चौधरीको मन कहिल्यै नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागि परीरहेका छन् । उनी आफ्नै माटोमा भविष्य खोज्न सफल भएका छन् ।

कृषिप्रतिको लगावकैै कारण उनी अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त छन् । विद्यालय अध्यापनमा मध्यमखालका उनलाई बुबाले पढाइ जारी राख्न दबाब दिएका थिए । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो ।

पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उनको बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढे उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनले तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आएका छन् । उनी ५ बिघा १७ कट्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बनेका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेंडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।

तरकारीबाट मात्रै महीनामा रू। ३० हजारको आम्दानी गर्दै आएका उनले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गरेका छन् । ‘१० कट्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ ’, चौधरीले भने ‘एक पटकमा ४ हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्ट्रीफार्मबाट पनि वार्षिक सरदर रू। २० लाख आम्दानी हुने गरेको छ ।’

रू। ५ लाख लगानीबाट कुखुरापालन शुरु गरेका उनले एक वर्षयतादेखि बरुण पोल्ट्री सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आएका छन् । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत संघसंस्थाले खरीद गरी लैजाने गरेका छन् । ‘गतवर्ष बजार व्यवस्थापन नहुंदा तरकारी कुहिएर खेर गएको थियो’, उनले भने ‘अहिले भने बजारको समस्या कम भएको छ ।’