वीरगञ्ज। जितपुर सिमरा उपमहानगरपालिका ११ खेस्रौलका किसान परमानन्द चौधरीले पोहोर भन्दा यसवर्ष मकैखेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण उनलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाटले ल्याएको यन्त्रबाट मकै रोप्ने प्रविधि हो ।

उनले अघिल्लो वर्ष यन्त्रबाट मकै रोप्दा सबै खर्च कटाएर रू. ४ लाख ५० हजार मुनाफा कमाएपछि यसवर्ष हौसिएर उनले ५ बिघा क्षेत्रफलमा यन्त्रबाट मकैखेती गरेका छन् । परम्परागत विधिभन्दा यन्त्रले रोपेको मकैबाली सप्रिने, राम्रो घोघा र दाना लाग्ने भएपछि त्यसभेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आमाटारका करीब १० किसानले यसवर्ष २५ बिगहा क्षेत्रफलमा व्यावसायिक रुपमा मकैखेती गरेका छन् ।

त्यसभेगका किसानले ३५२२ जातको मकै लगाएर मेजप्लान्ट भन्ने यन्त्रले पहिलो पटक दुई बिघा क्षेत्रफलमा मकैखेती गरेको किसान निरञ्जन चौधरीले बताए । उनले भने ‘चारपांग्रे ट्रयाक्टरबाट खेतमा चलाउन सकिने यो उपकरण मानिसले भन्दा व्यवस्थित रुपमा लाइनमा मकै रोप्दा बाली सप्रिन्छ ।’ एकजना ट्रयाक्टर चालकले मेसिन चलाएर मकै रोपेपछि विषादी छर्न लाग्ने मजदूरबाहेक मकैखेतमा मजदूर नलागेकाले खर्चसमेत बचत हुने हुँदा यन्त्रबाट मकै रोपेको उनले बताए । मकैको बीउ रोप्नुअघि कल्टिभेटर र रोटाभेटरबाटै खेत जोतेको र ल्याण्ड लेभलर यन्त्र चलाएर मिलाउँदा समय र खर्च कम लागेको अर्का किसान सहदेव चौधरीले बताए ।

मेजप्लान्ट यन्त्र सिफारिस गरेको कृषि अनुसन्धान केन्द्र वीरगञ्जका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्रका अनुसार चीनबाट खरीद गरी ल्याएको उक्त यन्त्रलाई रानीघाटस्थित कार्यालयमा आवश्यक परीक्षणपछि किसानले प्रयोग गर्न थाल्दा मकैखेती राम्रो हुनथालेको छ । परीक्षणपछि उक्त यन्त्र किसानका लागि बरदान र अत्यन्त उपयोगि सावित भएकोले अत्यधिक प्रयोग हुन थालेको वैज्ञानिक मिश्रले बताए । उनले भने ‘यो मेसिनको प्रयोगले मकैबाली राम्रो हुन थालेपछि अहिले बारामा किसानले व्यावसायिक रुपमा मकैखेती गरिरहेका छन् ।

‘कृषि मजदूरको बढ्दो अभावका कारण किसानलाई समस्या हुंदै गएको र परम्परागत विधिबाट खेती गर्दा लागत, मेहनत, झन्झट बढी हुने भएकाले किसानलाई यान्त्रिकिकरणतर्फ अभयस्त बनाउने प्रयासमा केन्द्र लागेको छ । किसानले यो उपकरण खरीद गर्दा बजार मूल्य करीब रू।२ लाख ५० हजार पर्न आउने भए पनि बारामा गतवर्षदेखि थुप्रै किसानले यो उपकरण प्रयोग गरी व्यावसायिक रुपमा मकैखेती गरी आर्थिक लाभ लिनथालेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका ११ खेस्रौलकै किसान जितु झाले आफनो ८ बिघा खेतमा मेसिनबाट उखु रोपेका छन् । पछिल्लो समय कृषि मजदूर घट्दै गएको र परम्परागत ढंगले खेती गर्दा लागत बढी लाग्ने भएकाले यसवर्ष उनले पहिलो पटक उपकरणको मद्दतले उखु रोपेका हुन् । उनलाई मेसिनबाट उखु रोप्न कृषि औजार अनुसन्धान केन्द्रले अर्धस्वचालित मेसिन उपलब्ध गराएको छ ।

यो उपकरणले एकै पटकमा खेतमा नाला बनाउने, नालाभित्र उखु रोप्ने, नाला पुर्ने, रासायनिक मल छर्ने, उखु काटने, उखुमा लाग्ने कीरा मार्ने ,विषादी छर्ने, काम समेत एकै पटक गर्ने भएकाले किसानको ५६ प्रतिशत खेती लागत घट्ने दाबी केन्द्रका प्रमुख मिश्रले गरेका छन् ।

सो उपकरणको प्रयोगले एक घण्टामा बढीमा ६ कट्ठा खेतमा उखु रोप्न सकिने भएकाले किसानको उपकरणप्रति आकर्षण बढ्दै गएको हो । यन्त्रबाट उखु रोप्दा प्रतिहेक्टर ७० देखि ९० टनसम्म उखु उत्पादन हुने गरेको किसान बताउँछन् । सन् २०१४ मा केन्द्रले भारतको मेरठबाट करीब रू।३ लाखमा सो उपकरण खरीद गरी ल्याएको थियो ।