
घोडाघोडी। गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी ।
प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बने । किसानी गरेरै उनले वार्षिक लाखौँ कमाउँदै आएका छन् ।
प्राविधिक शिक्षा पढे पनि चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरेका छन् । आफ्नै माटोमा भविष्य खोज्न सफल छन् ।
कृषिप्रतिको लगावकै कारण उनी हाल व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त रहने गरेका छन् । विद्यालय अध्यापनमा मध्यम उनलाई बुबाले पढाइ जारी राख्न दबाब दिन्थे । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो ।
पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढेका उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।
घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका रमेशले तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्दै आएका छन् । उनले पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान भएका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।
तरकारीबाट मात्रै महीनामा ३० हजारको आम्दानी गर्दै आएका उनले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गरेका छन् । १० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छु, चौधरीले भने, एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु ।
पोल्टीफार्मबाट पनि वार्षिक सरदर २० लाख आम्दानी हुने गरेको उनले बताए । पाँच लाख लगानीबाट कुखुरापालन शुरु गरेका रमेशले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिन थालेका छन् ।
उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् । गतवर्ष बजार व्यवस्थापन नहँुदा तरकारी कुहिएर खेर गएको थियोु, उनले भने, अहिले भने बजारको समस्या कम भएको छ ।
युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनी बताउँछन् ।