
ललितपुर। नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ। सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।
अब योसँगै आगामी अप्रिल १ देखि निर्णय कार्यान्वयनमा आउने छ। भाषा परीक्षा उत्तिर्ण गरेपछि जापान रोजगारीको ढोका खुल्ने छ। जापानले कोरियन मोडलमा नै कामदार लैजाने छ। रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने छ।
जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ क्षेत्र तोकेको छ। कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योथ, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।
पहिलो पाँच वर्षमा यी मुलुकहरूबाट तीन लाख ४५ हजार एक सय ५० कामदार जापान जानेछन्। जापानले कामदार आपूर्तिकर्ता मुलुकको रूपमा नेपाललाई पहिलोपटक राखेको हो।