एजेन्सी। भारतमा लामो समयदेखि आफ्ना माग पूरा गराउन संघर्ष गर्दै आएका किसानहरूले सरकारलाई दबाब दिन नयाँ उपाय अपनाएका छन्। उनीहरूले आसन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मैदान उत्रिने भन्दै माग पूरा गराउन दबाब दिएका छन्।

आफ्ना मागलाई लिएर दिल्लीमा लामो समयदेखि छुट्टाछुट्टै तरिकाले विरोध प्रदर्शन गरेपछि तमिलनाडुका १११ जना किसानले बनारस लोकसभा सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लड्ने निर्णय गरेको बिबिसी हिन्दीले जनाएको छ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा वाराणसी र वडोदराबाट निर्वाचन जितेका थियो। आसन्न लोकसभा निर्वाचनमा पनि प्रधानमन्त्री मोदी बनारसबाट निर्वाचन लड्दै छन्।

किसानहरूका नेता पि अयाकन्नुले बनारसका मानिसहरूलाई देशका किसान कुन अवस्थामा आफ्नो जीवन गुजारिरहेका छन् भन्ने देखाउन चाहेको प्रतिकृया दिएका छन्। यद्यपि भारतीय जनता पार्टी (बिजेपी)ले आफ्नो घोषणापत्रमा आफूहरूका मुद्दालाई समेट्ने आश्वान दिए निर्वाचनमा किसानहरू उठ्ने निर्णयबाट पछि हट्ने अयाकन्नुको भनाई छ।

४ सय बढी किसानले दिल्लीमा १ सय ४० दिनसम्म कृषिजन्य उत्पादनको उचित मूल्य, ऋण मिनाह लगायतका माग गर्दै विरोध प्रदर्शन गरेका थिए।