
क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ ।
फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो हरियो रंगका १ – २ सेन्टीमीटर सम्म व्यास भएका हुन्छन् । हाँगाको टुप्पोमा झुप्पा फूलेको हुन्छ ।
उपयोग :
यसका उपयोगी भागहरु जरा, फल, फूल हुन् । व्यापारिक प्रयोजनमा यसको फूल प्रयोग गरिन्छ । ईजिप्ट, ग्रीस, रोम लगाएतका देशमा यसको सुकेको फूल धेरै पहिला देखि विभिन्न रोग निदानको लागि प्रयोग हुँदैं आएको छ । यसको फूलमा सुक्ष्मजिवाणुनाषक गुण ( Anti-microobial property ) पाईन्छ । नेपालमा यो प्राकृतिक अवश्थामा नपाईने भएकोले यसको परम्परागत उपयोग गरेको पाईदैंन ।
क्यामोमीला फूलबाट सुगन्धित तेल निकालिन्छ । तेलको प्रयोग पेट, दाँत र श्वासप्रश्वास समस्यामा लाभदायक मानिन्छ । विभिन्न शौन्द्रय प्रशाधनका (Cosmetic) वस्तुहरु सावुन, क्रिम, लोसन र सुगन्धित तेल बनाउन यसको प्रयोग भएको पाईन्छ ।
यसको जरा दिमाग बढाउन, आँखा दुखेमा, टाउको दुखेमा, छाती दुखेमा र लुतोको लागि उपयोगी मानिन्छ ।
फुलमा पाईने प्रमुख रासायनिक तत्वहरु यस प्रकार छन् :
तेलमा १ -१५ प्रतिशत एजुलिन (Azulene) , मयाट्रिचीन (Matrichin) , टर्पेन हाइड्रोकार्बन (Terpen hydrocorbon), केटानिक अल्कोहल (Ketenic alcohol) आदि रसायनिक तत्वहरु पाईन्छ ।
पाईने स्थान :
क्यामोमीला यूरोपको रैथाने विरुवा हो । यूरोप र पश्चिम एसियामा यो प्राकृतिक अवश्थामा पाईन्छ । यो उपोष्ण (Subtropical ) र समशीतोष्ण (Temperate) प्रदेशीय भू भागमा पाईन्छ ।
नेपालमा :
नेपालमा यो प्राकृतिक अवश्थामा नपाईने भएकोले यो आयातित (Exotic) वनस्पति हो र हाले यसको व्यवसायीक रुपमा खेती गर्न थालिएको छ । बााके , बर्दिया र कैलाली जिल्लामा यसको व्यवसायीक खेती भैरहेको छ । खेतीको लागि राम्रो गुणस्तरको फूल फुल्ने र तेलको मात्रा धेरै भएको क्यामोमिलाको नयाँ जात प्रयोग हुँदैं आएको छ ।
खेती प्रविधि :
नेपालमा १०० देखि २,००० मिटरसम्मको उचाईमा यसको खेती गर्न सकिन्छ । तर, तराईमा यसको सफल परिक्षण भैसकेको छ । बलौटे, हलुका मलिलो र पानी नजम्ने माटो खेतीको लागि राम्रो मानिन्छ । यसको खेती तराईमा हिँउँदे र पहाडमा ग्रीष्मकालीन बालीको रुपमा गर्न सकिन्छ । यसको खेतीको लागि घाम प्रशस्त लाग्ने र अमलीयपन (PH) ५ – ८ भएको जग्गा उपयुक्त हुन्छ । क्यामोमिलाको खेती २ प्रकारले गर्न सकिन्छ ।
क) नर्सरीमा बेर्ना उतपादन गरेर
ख ) बीउ सिधै खेतमा छरेर
क) नर्सरीमा बेर्ना उतपादन गरेर :
तराईमा खेती गर्नका लागि असोज देखि कार्तिक सम्ममा नर्सरी राख्नु पर्छ । व्याडमा बीउ छर्नु अघि राम्रो संग भिज्ने गरि सिंचाई गर्नु पर्छ । बीउ अतिनै मसिनो हुने भएकोले एक भाग बीउमा ४ भाग वालुवा मिसाई छर्नु पर्छ । बीउ छरेपछि सकभर माटोले बीउ छोप्नु हुँदैंन ।
विरुवा सार्दा एक लाईन देखि अर्को लाईनको दुरी ३० देखि ४० से.मि. र एक विरवा देखि अर्को विरुवाको दुरी १०-१५ से.मि. राख्नुपर्छ ।
ख ) बीउ सिधै खेतमा छरेर :
नर्सरीमा बेर्ना हुर्काएर खेती गर्दा बढी खर्चिलो हुन्छ त्यसैले कात्र्तिक मंसिर महिनामा जग्गा तयार गरि सिधै बीउ छरेर पनि यसको खेती गर्न सकिन्छ ।
माटोको गुणस्तर हेरी प्रति हेक्टर १५ देखि २० टन कमपोष्ट मल राखी जग्गा तयार गर्नु उपयुक्त हुन्छ ।
गोलमेड तथा स्याहारसंभार :
क्यामोमिला खेती गर्दा आवश्यता अनुशार २ ३ पटक गोलमेड गरि झारपात हटाउँदा राम्रो हुन्छ ।
क्यामोमिला खेतीमा रोग तथा किराको समस्या कमै लाग्छ । तर, केही गरि कीरा लागेमा सावुन पानीको झोल छरिदिनु उपयुक्त हुन्छ ।
उत्पादन तथा बाली संकलन :
मंसिर महिनामा छरेको बीउबाट उम्रेको विरुवा माघदेखि चैत महिनासम्म फूल लाग्छ । र चैत देखी बैशाखसम्म बीउ लाग्छ । फूलहरु एकनासले फूलेपछि बाली संकलन गर्न सकिन्छ । फूल सुगन्धित तेल उतपादन गर्नको लागि प्रयोग गरिने भएकोले राम्रो आकारको मात्र फूल संकलन गर्नु पर्दछ ।
फूलमात्र संकलन गर्दा लागत खर्च बढ्न सक्छ त्यसैले डाँठ काटेर बाली संकलन गर्दा समयको वचत हुन्छ । पहिलो बाली संकलन गरेको १५ – २० दिनमा अर्को बाली तयार हुन्छ र त्यसको केही दिनपछि तेस्रो बाली तयार हुन्छ । यसको ताजा फूल (Fresh flower) उत्पादन प्रति रोपनि ३०० केजी र सुख्खा उतपादन प्रति रोपनी ५०-७५ केजी सम्म हुन्छ । यदी बीउ उत्पादनको लागि खेती गरिएको हो भने खेतमै फूल पाक्न दिनुपर्छ ।
प्रसोधन :
संकलित ताजा फूलमा ६०-८५ प्रतिशत चिसोपन हुने हुनाले छहारीमा सुकाउनु आवश्यक हुँन्छ । फूललाई छहारीमा २-३ दिनसम्म ओइलाउन दिनुपर्छ । यसको फूल निकाली तेल निकालिन्छ ।
बजार :
क्यामोमिलाको तेलको माग उच्च छ । यसको बजार मूल्य प्रति केजी हाल ४० हजार रहेको छ । जडीबुटी प्रसोधन कम्पनी लि. काठमाडौं र व्यवसायी तेलको लागि घरदैलोमै आउँछन् । त्यसैले यसको बजार व्यापक छ ।