ललितपुर। उपत्यकाको तीन जिल्लामा प्राँगारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश नम्बर ३ को सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत सूचना जारि गरेको छ ।

मन्त्रालयले यो कार्यक्रम उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन गर्न लागेको हो । कृषि ज्ञान केन्द्र ललितपुरमार्फत सञ्चालन हुने यो कार्यक्रममा सहभागी हुने ३० दिने सूचना जारि गरिएको छ । फागुन ३० गतेदेखि निवेदन दिने ३० दिने म्याद दिइएको छ ।

यो कार्यक्रमका लागि पाँच प्रकारको कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार एकल फर्मको लागि खुल्ला जमिनमा प्राँगारिक उत्पादन (कम्तिमा १० रोपनीमा खेति गर्नुपर्ने) । यो कार्यक्रममा पाँचजनालाई सहभागी गराइनेछ ।

यस्तै समूह वा सहकारीका लागि खुल्ला जमिनमा प्राँगारिक उत्पादन (कम्तिमा ६० रोपनीमा खेति गर्नुपर्ने) । यो कार्यक्रममा दुई समूह वा सहकारीलाई सहभागी गराइनेछ ।

प्राँगारिक उत्पादनका लागि प्लास्टिक घर विस्तार अनुदान (एकल फर्मको लागि एक हजार पाँच सय वर्ग मिटर र सामूहिक खेतीको लागि प्रति सदस्य एक हजार पाँच सय वर्ग मिटर हुनुपर्ने) । यो कार्यक्रममा १३ निवेदनलाई छनौट गरिनेछ ।

यस्तै प्राँगारिक उत्पादनका लागि प्लास्टिक घर सुधार अनुदान (पहिले नै निर्माण भई उत्पादनमा प्रयोग भइरहेका हुनुपर्ने) । यो कार्यक्रमका लागि १३ वटा निवेदन छनौट गरिनेछ । त्यस्तै प्राँगारिक खेति परिक्षण कार्यक्रम (कृषक समूह र सहकारी मात्र) । यो कार्यक्रमका लागि २ निवेदन छनौट गर्ने व्यवस्था गरिएको छ ।

निवेदनका लागि १० रुपैयाँको टिकट, बैठकको निर्णय, समूह, सहकारी, फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, खेति गरिने जग्गाको लालपूर्जा सक्कल तथा प्रतिलिपी तथा करारमा ५ बर्षको करारनामा पत्र र वडा कार्यालयको सिफारिशजस्ता कागजात अनिवार्य गरिएको छ ।

विशेष जानकारीको लागि कृषि ज्ञान केन्द्र ललितपुर, फोन नम्बर ०१ – ५५३४६१६