चितवन। ह्याचरी, कुखुराको फार्म तथा दाना उद्योग जिल्लाका ग्रामीण भेगमा खुल्ने क्रम बढ्दै गएकोे छ । शहरीकरणसँगै प्रदुषण बढ्नुका साथै जिल्लाको जनघनत्व र जग्गाको मूल्यमा वृद्धि भएपछि शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा पोल्ट्रीहरु खुल्न थालेको सरोकारवाला बताउँछन् ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार नयाँ व्यवसायीले कम लगानीबाट व्यवसाय शुरु गर्ने भएकाले सस्तो मूल्यमा जग्गा भाडामा लिनका लागि ग्रामीण क्षेत्र रोज्ने गरेका छन् । बढ्दो प्रदुषणबाट पोल्ट्री व्यवसाय पनि प्रभावित भएको अध्यक्ष विष्टले बताए । प्

रदुषण बढ्दै जाँदा कुखुरा उत्पादनमा नकारात्मक असर पर्ने भएकाले पोल्ट्री व्यवसायका लागि शहरभन्दा ग्रामीण क्षेत्र नै उपयुक्त हुने उनको भनाइ छ । ‘व्यावसायिक रुपमा कुखुरापालन गर्न पहाडी ठाउँ नै राम्रो हुन्छ’, उनले भने, ‘पहिला व्यवसायी राम्रोसँग बाँच्न सके मात्र पोल्ट्री क्षेत्र आत्मनिर्भर बन्छ । त्यसका लागि उत्पादन क्षेत्र र बजार क्षेत्रको दूरी मिलाएर व्यवसाय गर्दा चौतर्फी फाइदा हुन्छ ।’

नेपाल दाना, अण्डा तथा कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेका अनुसार डेढ वर्षदेखि पोल्ट्री व्यवसायीले अन्य जिल्लामा गएर पोल्ट्री व्यवसाय शुरु गर्न थालेका छन् । अहिले चितवनका पोल्ट्री व्यवसायीहरुले दाङ, गोरखा, लमजुङ, तनहुँ, नगरकोट, रुपन्देही र चितवनकै ग्रामीण भेगमा पोल्ट्री खोल्न थालेका छन । ‘जिल्लाकै पोल्ट्री बन्द गरेर स्थानान्तरण गरिएको होइन’ उनले भने, ‘नयाँ खुल्ने र विस्तार हुने फर्म अन्य जिल्लामा खुलेका हुन् । जग्गाको भाडा सस्तो र जैविक सुरक्षाका दृष्टिकोणले अन्य जिल्ला व्यवसायीको रोजाइमा परेको हो ।’

पोल्ट्री व्यवसाय सञ्चालन गर्न २५ देखि २९ डिग्री तापक्रमलाई उपयुक्त मानिन्छ । हावापानीको हिसाबले चितवनभन्दा अन्य जिल्लाको तापक्रम कम हुने भएकाले व्यवसायी त्यस क्षेत्रतर्फ लगानी गर्न उत्साहित देखिएका छन् ।

पछिल्लो समय बाहिरी जिल्लामा कुखुराको खपत बढी हुने भएपछि सोही क्षेत्रको बजारलाई मासु र अण्डामा आत्मनिर्भर बनाउन व्यवसायीले नयाँ उपाय निकालेका हुन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले व्यवसायीले आर्थिक गुणस्तरलाई वृद्धि गर्न अन्य जिल्लामा व्यवसाय विस्तार गरेको बताए । ‘कुखुराका लागि आवश्यक पर्ने दाना बनाउन मकै स्थानीय बजारमा पर्याप्त र सस्तो मूल्यमा पाइन्छ,’ उनले भने, ‘ढुवानी खर्च नलाग्ने र बाटोमा कुखुरा मर्ने जोखिम नहुने भएकाले व्यवसायीलाई उच्चतम फाइदा पुग्छ ।’ चितवनमा भइरहेको शहरीकरणले सुरक्षित ठाउँको खोजीमा व्यवसायी अन्य जिल्लामा पुगेका हुन् ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार चितवनमा १ हजार ६०० पोल्ट्री व्यवसायी छन् । पोल्ट्रीको राजधानी चितवनमा नेपालको कुल उत्पादनको ६० प्रतिशत चल्ला उत्पादन हुने गर्दछ । त्यस्तै लेयर्स कुखुरा ९५ र अण्डा ५० प्रतिशत उत्पादन हुने महासंघको तथ्यांकमा उल्लेख छ । जिल्लामा उत्पादन भएका १५ प्रतिशत अण्डा मात्रै स्थानीय बजारमा खपत हुने गरेको छ ।

यहाँ उत्पादन हुने कुखुराको मुख्य बजार काठमाडौं, पोखरा र वीरगञ्ज हो । हाल जिल्लामा २ हजारदेखि २ लाखसम्म कुखुरा पाल्ने व्यवसायी छन् ।